झापा । कर्मचारी मिलन केन्द्र झापाको १८औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिकामा रहेको पर्यटकीय स्थल दोमुखामा वनभोजसहित आयोजित कार्यक्रममा जिल्ला अदालत झापाका न्यायाधिश चन्द्रमणि ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।
उनले मिलन केन्द्रले कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न समयमा गर्दै आएको कार्यक्रमको प्रशंसा गरेका थिए ।
मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्मचारीका पीरमर्का बिसाउने, एकापसमा सद्भाव, भातृत्व कायम गर्ने थलोको रुपमा मिलन केन्द्रले काम गर्दै आएको बताए ।
कार्यक्रममा संस्थाले गरेको वार्षिक गतिविधिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दामोदर घिमिरेले प्रस्तुत गरेका थिए । वनभोजसहित रहेको कार्यक्रममा जिल्लाका सबै कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा गायन, नृत्य प्रतियोगिता, हण्डीफोर र म्यूजिकल चियर लगायतका प्रतियोगितात्मक खेल गतिविधिहरु भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सबै प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको केन्द्रका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
उनले प्रत्येक वर्ष मिलन केन्द्रले साधारणसभा र वनभोज कार्यक्रम एकैसाथ गर्दै आएको जानकारी दिए ।