२०८१ असोज ३, बिहिवार , ११:०२:०० बजे

Sajhamanch
'

बिर्तामोडमा नयाँ अभ्यास, फिल्डमै निस्किएर नगरप्रमुखद्वारा जग्गा वर्गीकरणको अनुगमन गर्ने

बिहिवार, मंसिर २२, २०७९

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो ।

बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकाले सबै वडामा यस अघिदेखिनै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

नगरपालिकाले सबै वडामा स्थानीय भू–उपयोग परिषदको वडा समितिसमेत गठन गरिसकेको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गरेसँगै जग्गा वर्गीकरणको काम अघि बढाउन देशभरका पालिकाहरुलाई निर्देशन दिएको थियो ।

नियमअनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण हुनेछन्। त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।

सम्बन्धित खबर