२०८१ मंसिर १२, बुधवार , ०१:५५:३८ बजे

Sajhamanch
'

सहयात्रा ग्रुपको आयोजनामा खुदुनाबारीमा रक्तदान

आइतवार, मंसिर १८, २०७९

अर्जुनधारा । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा झापाको अर्जुनधारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेका थिए ।

सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रममा झापा र इलामका दाताहरुको सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा सहयात्रा ग्रुपका सदस्यहरुसँगै स्थानीय नागरिक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले रक्तदान गरेका हुन् ।

आजको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधि होम दुलालले २४औं पटक रक्तदान गरेको बताएका छन् । दाताहरु मध्येमा दुलाल हालसम्म सबैभन्दा धेरैपटक रक्तदाता थिए ।

सहयात्रा ग्रुपका संयोजक योञ्जनको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गर्दै रक्तदान कार्यक्रमको थालनी गरिएको थियो ।

सामाजिक कार्यमा सक्रिय रहेका युवाहरुको संस्था सहयात्रा ग्रुप २०७५ सालमा स्थापना भएको हो । ग्रुपमा झापा र इलामका ३० जनाभन्दा बढी सचेत युवाहरुको आबद्धता रहेको छ ।

२०७९ सालको तिहारमा ग्रुपले सञ्चालन गरेको मौलिक देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट खर्च हुने गरी पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरिएको ग्रुपका सदस्य मदन भट्टराई (जितु)ले जानकारी दिएका छन् ।

ग्रुपले आगामी कार्यक्रमको रुपमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गर्ने तयारी गरिरहेको भट्टराईले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, रेडक्रस सोसाइटीका प्रतिनिधि, प्रहरी अधिकारीहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित खबर