
काठमाडौँ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ। बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले अहिले यहाँका सयौं स्थानीय आफन्तको आश्रय लिएर बसेका छन्। व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन।
बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांक अनुसार बाढीले कागबेनीमा झन्डै एक अर्ब रुपैयाँको क्षति पुर्याएको छ। भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो।
बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैंचा र सिंचाइ कुलोमा समेत क्षति पुयाएको छ।
गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पाती लगायतका फलफूल बोट क्षति पुगेको छ।
बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउ लगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए।
उनका अनुसार झन्डै एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ। स्थानीय मिङमर गुरुङको स्याउका ४५ वटा बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ।
बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए।
उनीहरूको ३५ देखि ५५ सम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ। कृषि बाढीले स्याउ लगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ।
झन्डै सात हेक्टर जमिनमा सिंचाइ गरिने कागबेनी सिंचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले बताए।
गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीन कुलो बाढीले क्षति गरेको छ। उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिंचाइ कुलो समेत बाढीले बगाएको छ।
गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ हाते ट्रयाक्टर समेत बाढीले बगाएको उनी बताउँछन्। बाढीले स्याउका बोट, बगैंचा, विभिन्न कृषि उकरण र सिंचाइ कुलो बगाउँदा झन्डै एक करोड रुपैयाँ बढीको क्षति भएको धामीको भनाइ छ।
उनी भन्छन्, ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैंचामा ठूलो क्षति पु याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौं,कोहीको बगैंचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिंचाइ कुलो बगाउँदा सयौं रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ।’
बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। पशुचौपाया बगाउँदा झन्डै ५० लाख रुपैयाँ बढीको क्षति भएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले बताए।
बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए। यसबाट करिब ५० लाख रुपैयाँ बढीको नोक्सानी भएको उनको भनाइ छ।
बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ रुपैयाँ क्षति गरेको छ। सडक, मोटरेबल पुल, झोलुङे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ।
पचास ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ भने बाइस घर पूर्ण र पाँचघरमा आंशिक क्षति भएको थियो।