बाल विकास शिक्षक र कर्मचारीले तलब वृद्धिको माग गर्दै कनकाई नगरपालिकामा बुझाए ज्ञापनपत्र

June 23, 2022 9:42 am

कनकाई । कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल बाल विकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी र विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र तयार गरी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शर्मा शिवाकोटीलाई बुझाइएको हो । न्यून वेतनमा काम गरिरहेका शिक्षक तथा कर्मचारीहरुले यस अघिदेखि नै आफ्नो सेवा सुविधा वृद्धिका लागि संघीय सरकारसँग समेत माग गरिसकेको छन् ।

निरन्तर रुपमा सरकारको ध्यान केन्द्रित गरिरहेको भए तापनि अन्य सबै सेवाका कर्मचारीको तलब भत्ता वृद्धि हुँदा बाल विकासका शिक्षक तथा कर्मचारीका विषयमा सरकार मौन रहेकोले स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाइएको बाल विकास शिक्षक कनकाई नगर अध्यक्ष टिकामाया गिरीले बताइन् ।

ज्ञापन पत्र ग्रहण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले बालविकास तर्फका शिक्षक तथा कर्मचारीहरुका लागि स्थानीय सरकारको स्रोत तथा साधनले भ्याएसम्म उपलब्ध गराइएको र आउँदा दिनमा समेत क्रमशः वृद्धि गर्दै जाने बताए । स्थानीय सरकारले सबै वर्ग, समुदाय र क्षेत्रलाई सन्तुलित रुपमा बजेटको व्यवस्थापन गर्नुपर्ने भएकाले कनकाईलाई शिक्षाको हब बनाउने अभियानको योजना अनुरुप केही प्राथमिकता भने अवश्य रहेको नगर प्रमुख पोखरेलले प्रष्ट पारेका छन् ।

          June 23, 2022 9:42 am | मुख्य समाचार,शिक्षा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: