बिर्तामोड नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर सम्मान

November 23, 2021 6:57 pm

विर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षिय मोतिलाल वास्तोला, १०२ वर्षिय विष्णुमाया वास्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षिय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षिय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ वरगाछिका १०६ वर्षिय भिमलाल बराल,वडा नम्बर ८ कि १०० वर्षिय तिलमाया मगर र वडा नम्बर ९का १०१ वर्षिय रत्नबहादुर थापा रहनु भएको छ । नगरप्रमुख धुर्वकुमार शिवाकोटीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर आर्शिवाद लिएको बताउनु भयो । आमा बाबु भगवान रहेको भन्दै उहाँले सबैले वृद्ववृद्वालाई माया र सम्मान गर्न आग्रह गर्नु भयो । नगरप्रमुख शिवाकोटीले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन पनि नगरपालिकाले सय वर्ष भन्दा मुनिका जेष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिए ।

यस्तै नगरकी उपप्रमुख पवित्रा महतारा प्रसाईले सय वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नगरसम्म जानका लागि झण्झट हुने भएकाले घरघर मै पुगेर सम्मान गरीएको बताइन्। उनले घर परिवारमा समेत वृद्ववृद्वालाई सम्मान गर्नु पर्छ भन्ने उर्जा थपिने भएकाकारण पनि यो सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताइन् । जेष्ठ नागरिक भनेको राज्यको अत्यन्त महत्वपुर्ण, अनुभवी र गहना भएकोले सम्मान गर्नु पर्नेमा उनको जोड थियो ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को महिला,वालवालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शिर्षकमा रहेको नियमित कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरीएको हो । नगरपालिकाले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन परोपकार वृद्वाआश्रममा रहेका ३४ जना वृद्ववृद्वालाई समेत पोषिलो खानेकुरा वितरण गरिएको थियो ।

          November 23, 2021 6:57 pm | विविधा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: