संविधानसभाको दुई कार्यकाल सदस्य रहेका कांग्रेस नेता राजवंशी एमालेमा प्रवेश

September 27, 2021 11:05 am

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट २ पटक संविधानसभामा सदस्य बनेका बिर्तामोडका अमृतलाल राजवंशीलाई नेकपा एमालेमा टीका र खादा लगाएर स्वागत गरेका छन् ।

संविधानसभाका सदस्य राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई आइतबार एक समारोहमा एमालेमा प्रवेश गराएर अध्यक्ष ओलीले राजवंशीलाई स्वागत गरेका हुन् । कांग्रेस नेता एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफले लगायत झापाली नेताहरुको उपस्थिति रहेको थियो ।

एमालेमा प्रवेश गर्दै नेता राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको स्मरण गर्दै आफू एमालेमा प्रवेश गरेको बताए ।

उनले ‘चुच्चे नक्शा जारी गरी नेपाली भूभागको रक्षा गर्न जिम्मेवार ढंगले प्रस्तुत भएको, अस्थिरतातर्फ उन्मुख भएका सिके राउत र विप्लवलाई राजनीतिको मूल प्रवाहमा समाहित गराएर नेपाली राजनीतिमा परिपक्व हैसियत प्रस्तुत गरी नेकपा एमाले फेरि पनि पहिलो शक्ति बन्ने विश्वासका एमाले प्रवेश गरेर अभियानमा सरिक हुन चाहेको सुनाए ।

नेपाली कांग्रेसको राजनीतिमा ४० वर्ष सक्रिय रहँदा पनि देशलाई कता लैजाने प्रष्ट दृष्टिकोण नभएको राजनीतिक वैचारिक धार नभएको हुँदा अब नेपाली कांग्रेसमा रहनु हुने साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दै नेता राजवंशीले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रको रक्षक, कानुनी राजको हिमायती, देश विकासको अगुवाई गर्न सक्ने नेपाली राजनीतिको नेता पार्टी एमाले भएकोले आफू एमालेमा रहने निर्णय गरेको हुँ ।’

          September 27, 2021 11:05 am | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित