२०८० फागुन १९, शनिवार , ०५:३१:५२ बजे

Sajhamanch
'

सवारी दुर्घटनामा माले महासचिव मैनालीका खुट्टा भाँचियो

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा नाति सवार रहेका कार दूर्घटनामा परेको हो ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यल बर्दीबासका डिएसपी राजन चापागाइँले जानकारी दिएका हुन् ।

कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए । प्रहरीले प्राप्त गरेको प्रारम्भिक जानकारी अनुसार सिपी मैनालीको खुट्टा भाँचिएको तथा निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।

अहिले उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको डिएसपी चापागाइँ जानकारी दिए ।

माले महासचिव मैनालीसहित परिवारका सदस्यहरु बिर्तामोड निवासी भाइ मीनप्रकाश मैनाली र अम्बिका मैनालीका छोरी सोनीको शुभविवाहमा सहभागी भएर काठमाडौं घर फर्कंदै थिए । यस्तै मैनालीका राजनीतिक सहयात्री नरेश खरेल र पवित्रा निरौलाकी कान्छी छोरीको हिजै सम्पन्न विवाहमा पनि सिपीले सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर