२०८० फागुन २०, आइतवार , ०६:३७:५५ बजे

Sajhamanch
'

एक नम्बर प्रदेशमा सवारी दुर्घटना : मोटरसाइकल धेरै

आइतवार, फागुन ११, २०७६

विराटनगर । प्रदेश १ मा मोटरसाइकल दुर्घटना धेरै हुने गरेको पाइएको छ । प्रदेश १ मा अन्य सवारी साधनभन्दा मोटरसाइकल धेरै छन् । सवारी दुर्घटना पनि अन्य भन्दा मोटरसाइकल कै बढी रहेको पाइएको हो ।

प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ४३ वटा सवारी साधन परे ।

जसमा पाँच सय ६३ वटा मोटरसाइकल मात्र छन् । दुर्घटनामा दुई सय २२ जनाको मृत्यु भएको थियो । यो समग्र दुर्घटनाको ४५ प्रतिशत हो ।साउनयता मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । कार, जीप लगायतका एक सय ७५ वटा निजी सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ ।

एक सय १४ वटा सार्वजनिक यात्रुबहाक बस दुर्घटनामा ३२ र एक सय छ वटा ट्रक, ट्यांकर र टिपर दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नियमको पालना नगरिकन लापरबाहीपूर्ण तरिकाले चलाइने गरेका कारण मोटरसाइकल बढी दुर्घटनामा पर्नेगरेको बताउँछन् ।

मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेल्मेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जनाभन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लंघन गरेर मोटरसाइकल चलाउने गरिएको उनको भनाइ छ ।

सवारी चालकलाई विभिन्न कार्यक्रममार्फत सचेत गरिएपनि नियम पालनामा चुक्दा र अटेरी गर्दा दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ ।

सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाय, जथाभावी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्रयाक, सवारी साधनको अत्याधिक चापले गर्दा दुर्घटना बढी हुने गरेको दाहाल बताउँछन् ।

आइतवार, फागुन ११, २०७६ | प्रदेश, समाज

सम्बन्धित खबर