
बिर्तामोड । नवनियुक्त सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले सम्मान गरेको छ । राज्यमन्त्री गजमेरलाई सिलाई व्यवसायी संघ झापाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बधाई दिँदै सम्मान गरेको हो । गजमेरलाई भर्खरै प्रदेश नं १ को सरकारले सामाजिक विकास राज्यमन्त्रीको रुपमा नियुक्त गरेको थियो ।
आफूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले अन्य संस्थाले गरेको सम्मान भन्दा यो संस्थाले गरेको सम्मानबाट आफू बढी नै भावुक भएको बताइन् । ‘आफू पनि यहि दलित समुदायबाट आएको नागरिक भएकोले होला तपाईहरुले देखाएको आत्मियताप्रति म बढी नै भावुक भएकी छु’ राज्यमन्त्री गजमेरले भनिन् ‘यो सम्मान मलाई मात्र नभएर सिंगो दलित समुदायलाई गरेको सम्मानको रुपमा म लिन्छु ।’
आफू जुन समुदायबाट आएकी हुँ त्यहि खालको सरोकार राख्ने मन्त्रालय परेको भन्दै राज्यमन्त्री गजमेरले उत्पीडित, जाति समुदाय र दलितले गर्दै आएको पेशाको उत्थानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले दलित समुदायको शीर झुक्ने काम आफूले कदापि नगर्ने पनि बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले नवनियुक्त मन्त्री गजमेरले सामाजिक कुरीति, क्षमता विकास जस्ता विषयलाई समात्ने खालको मन्त्रालय पाएको भन्दै उहाँको कार्यकालमा सामाजिक कुसंस्कार अन्त्य हुने आशा व्यक्त गरे । उनले प्रदेश १ को मन्त्री परिषद व्यवहारमै समावेशी भएको टिप्पणी गरे ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका भोला परियार, नेकपा बिर्तामोड नगरकमिटी अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले नवनियुक्त मन्त्री गजमेरले आफ्नो जीवन जस्तै सरल मन्त्रालय पाएको भन्दै बधाई दिएका थिए । सिलाई व्यवसायी संघ झापाका अध्यक्ष एवम् कार्यक्रमका सभापति दिलिप सुन्दासले संस्थाको दिगो विकास र प्रवर्धनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । सिलाई व्यवसायी संघ स्थानीय व्यक्ति र महिलालाई कालीगढ बनाउँदै रोजगार दिलाउने अभियानमा लागेकोले सहयोग आवश्यक भएको बताए । कार्यक्रम महासंघका केन्द्रीय सदस्य हरी नेपालीले सञ्चालन गरेका थिए ।