समुदायलाई सहकारी संस्थाको आवश्यकता आफ्नो समस्या समाधान गर्न नसक्ने असामान्य अवस्था सिर्जना भएकै समयमा पर्दछ । यसको उदाहरण संसारमा सबभन्दा पहिले सन् १८४४ मा बेलायतमा स्थापित रोजडेल सहकारी स्थापना हुँदा त्यहाँको मजदूरको आर्थिक र सामाजिक परिवेशले पनि यो कुरालाई पुष्टि गर्दछ । नेपालको सहकारी क्षेत्रमा सहकारी संस्थाले पैसाको कारोबार गर्ने भएकोले शेयर सदस्यको सम्बन्ध आर्थिक कारोबारसँग मात्रै हुने हो कि जस्तो लाग्दछ । तर संस्था र शेयर सदस्यको सम्बन्ध त्यतिमा मात्र सिमित हुँदैन र हुनुहँुदैन ।
सहकारी संस्थाले सदस्यको आवश्यकता अनुसार सेवामुलक ब्यवसाय संचालन गर्ने भएकोले सेवालाई पहिलो प्राथमिकतामा राख्नु सहकारीको सिद्दान्त भित्र पर्दछ । सदस्यलाई पनि सेवाको आवश्यकता सामन्य अवस्थामा भन्दा महामारी, भोकमरी, आर्थिक मन्दी, प्राकृतिक प्रकोप, युद्धजस्ता मानव समुदायलाई सामुहिक रुपमा प्रभाव पार्ने घटनाहरु अवस्थामा पर्दछ । यस्तो विषम परिस्थितिमा सदस्यले आफ्नो समस्याको समाधान गर्न आफैं धेरै प्रयास गर्न सक्दैन । तर उसका जस्ता समस्या अरु सदस्यले पनि भोगिरहेका छन् भन्ने ज्ञान भएपछि उ आफ्ना समस्यालाई सामुहिकीकरण गर्दै समाधानका उपायहरुको खोजीमा सामुहिक छलफल गर्न भने उत्प्रेरित हुने भएकोले संस्थाले तत्कालका समस्यालाई सामुहिकीकरण गरिदिनु पर्दछ । यसोगर्दा सदस्यहरुको एकापसमा आत्मविश्वास बढ्ने र मस्तिष्क मन्थनद्वारा समास्या समाधानाको उचित बाटो पहिल्याउने सम्भावना रहन्छ ।
शेयर सदस्यहरुलाई आर्थिक समस्या परेको भए त झन संस्थाले प्रत्यक्ष रुपमा सहयोग पुर्याउन सकिहाल्दछ । सहकारीको मूल्य मान्यता भित्रै रहेर सहकारी संस्थाको क्षमता अभिवृद्धिको लागि दोस्रो तह, तेस्रो तहको छाता संगठन निर्माण हुने भएकोले त्यस्ता छाता संगठनको औचित्य पुष्टि पनि यस्तै असामन्य परिस्थितिमा हुने गर्दछ । सहकारी संस्थाले आफ्ना सदस्यलाई मुनाफा भन्दा माथि उठेर सेवा प्रवाह गर्ने अवसर यही हो । यस्तो अवस्थामा सेवा पाएको शेयर सदस्यले सदैव संस्थाको हित चिताउँछ । र, आउँदा दिनमा संस्थाको सदस्यमुखी हरेक कार्यक्रममा सहयोग पुर्याउने गर्दछ । सहकारीको इतिहासमा यस्ता उदाहरण धेरै देख्न पाइन्छन् । जस्तै सन् १९७० तिरको विश्व आर्थिक मन्दीमा सारा बैंकहरु टाट पल्टिँदा पनि सहकारी संस्थालाई आफ्ना सदस्यले दर्शाएको अपार विश्वासका कारण सहकारी संस्थाहरु धराशयी हुनबाट बचेका थिए । यो महामारी नियन्त्रण भएपछिको अवस्थमा शेयर सदस्यले संस्थालाई माया गर्नुपर्ने हुन्छ । यसको लागि संस्थाले सदस्यसँगको सम्बन्ध मजबुत बनाइरहन आवश्यक छ ।
नेपालको सन्दर्भमा सहकारी संस्थाको इतिहास भर्खर ६ दशकको दौरानमा छ । तर जनसंख्याको हिसाबले झण्डै एक तिहाई जनता सहकारी सस्थाको सदस्य भएर कारोबार गरिरहेका छन् । त्यसैले सहकारीप्रतिको आकर्षण आशा लाग्दो नै छ । यो आशालाई टुट्न नदिन पनि आजको कठिन परिस्थितिमा रहेका शेयर सदस्यलाई मलमपट्टीको काम गर्नु सहकारी संस्थाको आवश्यकता हो । सामान्यतया हाम्रो दिल दिमागमा सुखको बेलामा साथ दिएको भन्दा दुखमा साथ दिएको स्मरण भइरहन्छ । अहिले सहकारी संस्थाले आफ्नो सदस्यलाई पुर्याएको सानो सहयोगले भोलिका दिनमा संस्थाको प्रगतिको जग बस्न सक्दछ । कोरोना भाइरसको महामारीेले संस्था आफैं समस्यामा छ । यो यथार्थ हो । तर भोलिका दिनमा शेयर सदस्यको सहयोग हिजोको दिनमा भन्दा बढेर जानेछ । यो विषयलाई मनन गरेर सहकारी संस्थाको प्रकृतिको आधारमा आफ्ना सदस्यलाई महामारीबाट कसरी संरक्षित गर्ने, कसरी जोगाउने भनेर छलफल, बहस गर्नु आवश्यक भएको छ । एउटा स्थानीय तहमा थुपै्र सहकारी संस्थाहरु सञ्चालनमा छन । यस्तो अवस्थामा स्थानीय तहसँग सहकार्य गर्न इकाइहरु गठन गरी जनचेतनाको कार्य गर्ने, आफ्ना शेयर सदस्य र तिनका परिवार सुरक्षित भए नभएको जानकारी गराउने गर्नुपर्दछ । यसरी नै सम्भावित संक्रमितहरुको खोजी गर्ने, उपचारको ब्यवस्था मिलाउने, सम्बन्धित आफ्नो सदस्यलाई राहतको आवश्यकता छ छैन पहिचान गर्ने लगायतका कार्यमा सहकारीले आफ्नो समुदायमा ध्यान पुर्याउन सक्दछ । यी त केही उदाहरण मात्र हुन् । स्थानीय परिस्थितिको मूल्यांकन गर्दै सहकारी संस्थाले सदस्यलाई सहयोग गर्ने नयाँ नयाँ उपायहरुको खोजी गर्न सक्दछन् ।
यो विषम परिस्थितिमा आपूर्तिको सञ्जाल सबै भताभुङ्ग भएको छ । यस्तो अवस्थामा तरकारी, दूध, फलफूल, चिया, कफी, महजस्ता दैनिक उपभोग्य बस्तुको उत्पादन, संकलन, भण्डारण र बजार ब्यवस्थापनको उद्देश्यले गठित उत्पादक सहकारी संस्थाहरुले सदस्यको उत्पादनको बजार व्यवस्थापनको केही योगदान पुर्याउन सक्दछ कि ? स्वास्थ्य सहकारी संस्थाले स्थानीय तह, स्वास्थ्य संस्था वा मन्त्रालयसँग समन्वय र सहकार्य गर्दै आफूसँग भएको जनशक्ति परिचालन गर्न सक्दछ कि ? त्यसैगरी मजदूर सहकारीहरुले आफ्नो संस्थामा आबद्ध मजदूरको समस्या सम्बन्धित निकायसम्म पुर्याउन सक्दछ कि ?
नाङ्लो पसल, भरिया, ज्यामीदेखि ठूल–ठूला ब्यापारिक केन्द्रमा समेत आफ्ना कर्मचारीलाई पठाएर बचत गर्न सिकाएका सहकारी संस्थाहरुले हाल ती बचतकर्ताको अवस्था बुझ्नु पर्दछ । सरकारको नियम पालना गर्दै शेयर सदस्यको घरमा पास बुक लिएर उनीहरुको समस्या बुझ्न जान पनि त सकिन्छ । अहिले हाम्रो परिवार जसरी एकले अर्काको ख्याल गर्दै एकान्तबासमा बसिरहेका छौं, त्यसैगरी सहकारी संस्था पनि एउटा बृहत् परिवार नै हो । यसैले सकेसम्म आफ्नो परिवारको रेखदेखमा जुट्न सकिन्छ कि ? हामीसँग उपलब्ध अनलाइन प्रविधिलाई भरपुर उपयोग गर्दै सञ्चालक समिति, अन्तर सहकारी सम्वाद अनि सम्बन्धित निकायको सहकार्यमा सहकारीका सिद्दान्त भित्रै रहेर केही नयाँ काम गर्न सकिन्छ कि ? प्रयास गर्ने बेला यही हो । जय सहकारी ।