कोरोना भाइरसले बिश्वलाई त्रसित बनाएको छ । अमेरिका, चिन, इटली, जर्मनी जस्ता विश्व शक्ति रास्ट्रहरु कोरोनाको रोकथाम र नियन्त्रणका लागि हरसम्भव कोसिस गरिरहेका छन । तर पनि उनीहरुको कोसिस पर्याप्त देखिएको छैन ।
६ लाखभन्दा धेरै संक्रमित भएको र करिब ४० हजारको मृत्युु भए पछी अमेरिका आत्तिएको छ ।केही दिन अघिसम्म चिनियाँ भाईरस भन्दै हल्का टिप्पणी गर्ने अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प सबै ५० वटा राज्यमा संकटकाल घोसणा गर्न बाध्य भएका छन । लाग्छ, उनी तिलमिलाएका छन । आतिएका छन । कोरोना नियन्त्रणमा आफ्नो कमजोरिलाई ढाकछोप गर्ने प्रयास स्वरुप उनले विश्व स्वास्थ्य संगठनलाई दोस थोपरेका छन र प्रभाकारी कदम नचालेको र चिनको पक्षधरता लिएको भन्दै अमेरिकाले गर्दै आएको सहयोग कटौती गर्ने घोषणा गरेका छन । छिमेकी भारतले पनि लकडाउनको अवधी थप गर्दै यसलाई झन कडा बनाउने बताएको छ । चीनमा तुलनात्मक रुपमा स्थिति सुधार हुँदै गएको देखिए पनि पूर्णनियन्त्रणमा आयो भनिहाल्न सक्ने अवस्था छैन । नेपालमा पनि झन जटिल अवस्था आउने अनुमान गर्न सकिन्छ । नेपाल सरकारले लकडाउन तेस्रो चरणमा थप गरेको छ । अरु उपायको खोजिमा सरकारले काम गर्दै छ । सरकारको प्रयास पर्याप्त नभए पनि सन्तोषजनक छ ।
आफ्ना नागरिक बचाउन हरेक देशले सारा शक्ति लगाएका छन । विश्वका प्रायः सबै कुनामा फैलिएको यो महामारीको त्रासदी हेर्दा लाग्छ विश्वनै बन्दाबन्दी छ । आफ्नो सटर झारेको छ र घरभित्र लुकेको छ । राजनिती बिर्सिएको छ, व्यापार बिर्सिएको छ, आविस्कार बिर्सिएको छ । अरु सबै स्वार्थ बिर्सिएको छ, केवल बाँच्ने स्वार्थमा लागेको छ । सात अरब भन्दा बढी जनसंख्या अहिले आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ भन्दा फरक नपर्ला । एउटा यस्तो लडाइँ जो एक अर्का विरुद्धको छैन, आफू जस्तै मान्छेलाई हराउनुको छैन, केवल आफू जित्नुको लडाई छ । एउटा सानो भाइरस जसलाई हामी देख्न पनि सक्दैनौं । त्यही भाइरसले मानिसलाई उसको औकात सम्झाईदिएको छ । सारा प्रकृति माथी नै बिजय पाउन सक्ने ताकत देखाउने मानिसलाई सानो भाईरसले प्रकृतिको शक्ति फेरि सम्झाई दिएको जस्तो लाग्छ ।
यो भाइरस सँग हामी अर्थात मानिस हार्यो भने के होला रु के हजारौं बर्ष अघि डाइनोसरको लोप भए जस्तो मानिस प्रजातिको अस्तित्व अन्त्य होला ? यो भाइरस यसैगरी सजिलै फैलदै जाने अनि दैनिक हजारौंको संख्यामा मानिस मर्ने हो भने त मानव अस्तित्व नै संकटमा न आउला भन्न सकिन्न । यस्तै भयावह दृश्य देखाइएका कतिपय सिनेमाहरु मैले हेरेको छु । जसमा यस्तै खालका भाइरस फैलिने र एकपछी अर्को गर्दै मानिसहरु मर्दै गएको देखाईको छ । धेरै मानिसहरु एकै चोटि मर्दा शहरमा लासहरु यत्रतत्र छरिएको देखाईएका हुन्छन । कति भयावह हुन्छन ती दृश्यहरु । कयौं दिनसम्म लास नउठ्दा दुर्गन्ध फैलिरहेको ठाँउमा बाँचेका मानिसहरुले आफ्ना मरेका आफन्तहरुको अन्तिम संस्कारसम्म गर्न पाउदैनन ।
कति सिनेमाहरुमा त भाइरसले आक्रमण गरेर मृत्यु भएका मानिसहरु डरलाग्दा राक्षस जस्तै बनेर बौरिएका अनि उनीहरुले नै जिउँदा बचेका मानिसहरुलाई टोकि आफू जस्तै बनाएका देखाइएको छ । मरेर बौरिएकाहरुले पहिला आफ्नै नजिकका आफन्तहरुलाई आक्रमण गर्छन । मरेका आफ्ना प्रियहरुको शोकको पीडा एकातिर छ अर्को तिर तिनै प्रीयको आक्रमणबाट बाँच्नुपर्ने बाध्याता । आफू बाँच्न ती प्रेत झैँ उठेका प्रियहरुलाई फेरि मार्नुपर्ने अवस्था देखाइएको हुन्छ सिनेमाहरुमा । बाँच्नका लागि कति धेरै संघर्ष गर्नु परेको देखाइन्छ त्यहाँ । यी सिनेमामा देखाइएका दृश्यहरु सम्झिदा पनि आंग सिरिङ्ग हुन्छ । आसा गरौं यस्तो अवस्था आउने छैन । यो लडाइँमा कोरोना पराजित हुनेछ, हामी बिजयी हुने छौं । विभिन्न कालखण्डमा आएका यस्ता संकटहरुलाई मानिसले पराजित गर्दै अगाडि बढेको इतिहास छ ।
यो अवस्थामा विश्वकै साझा संकटको रुपमा देखिएको कोरोना भाइरसबाट मुक्ति पाउनका लागि पनि संसारभरका सबै मुलुकहरुको साझा प्रयास आवश्यक देखिन्छ । एक अर्का विरुद्धको लडाई नभइ साझा लडाइ भएकाले सबै मुलुकहरुले अहमता त्यागेर एकताका साथ मानव अस्तित्व रक्षाका लागि हातेमालो गर्न आवश्यक छ । संकटको समयमा देशभित्र पनि पक्ष प्रतिपक्ष बन्न जरुरी छैन भने संसारका कुनै पनि मुलुकहरुले कुनै वादको दुहाई दिन आवश्यक छैन । अमेरिका होस, रुस होस, चिन होस या त उत्तर कोरिया या त इरान होस सबैले सझा संकटका रुपमा कोरोनालाई लिनुपर्छ र चुनौतीको समानाका लागि सहकार्य गर्नुपर्छ ।
यो कुनै एक देश वा एक भुभागमा आएको संकट थियो भने या त कुनै वादले कुनै वादसँग गर्नुपर्ने युद्ध थियो भने कसैले कसैको पक्षधरता लिएर उभिन्थेउ होला तर यो त मानव अस्तित्वको युद्ध हो । सबैको शक्ति केन्द्रीकृत गरि एकै ठाँउमा उभिनुपर्ने बेला हो । हुन त कतिपयले यसलाई राजनीतिक रुप दिएर कुनै देशले बनाएको मानव सिर्जित भाइरस हो पनि भनेका छन । मलाई यति ठुलो राजनीतिक अपराध कसैबाट भयो होला भन्ने लाग्दैन । राजनीतिक तरंगको आशंका गर्दै समय खेर फाल्नुभन्दा यो वैश्विक संकटको नियन्त्रणका लागि सबैको शक्ति केन्द्रित हुन आवश्यक छ । के थाहा सिद्धांत, धर्म, भुगोल,वर्ण, र अहमताका कारण विभाजित हुँदै तेस्रो विश्वयुद्धको मुखमा पुगेको विश्वलाई एकताको पहलकदमीमा डोर्याउन कोरोना माध्यम बन्छ कि ?