विद्यार्थी को हो ? यो बुझ्न जरुरी छ । विद्यार्थी भनेको भविष्य कोर्ने कलम बोकेको कर्मवीर हो । विद्यार्थी विकासको अपार सम्भावना हो । विद्यार्थीको विकास, देशको विकास हो । विद्यार्थीले पहाड फोरेर मैदान बनाउने क्षमता राख्दछ । आर्जन गरेको विद्यालाई अर्थ दिने व्यक्ति मात्रै विद्यार्थी हो । विद्यार्थीले पढ्नु मात्रै पर्छ, अन्य अतिरिक्त क्रियाकलापमा सरिक हुनुहुँदैन भनेर त कोही पनि भन्दैनौँ । तर, विद्यार्थीले राजनीति गर्नु हुँदैन भनेर चाहिँ विद्वानहरुबाट सुुन्न पाइन्छ ।राजनीति आफैँमा एउटा अध्ययन हो र विद्यार्थीको प्रथम काम भनेकै अध्ययन गर्ने हो । विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने तर्क राख्ने जति सबै गलत हुुनुहुन्न् । तर, सोचनीय विषय चाहिँ अवश्य नै हो । विश्वमै सर्वश्रेष्ठ नीति राजनीति हो, अनि एउटा विद्यार्थीलाई सर्वश्रेष्ठ नीतिमा समाहित हुन कसरी रोक लगाउन सक्छौँ ।
विद्यार्थी जीवन भनेको जीवनको सुनौलो पल हो । किताबमा मात्रै सीमित नरहेर, चौतर्फी ज्ञान आर्जन गर्नु विद्यार्थीको कर्तव्य हो । विद्यार्थी जीवनमा गरिने राजनीतिले उसको ज्ञानलाई स्वरुप दिने काम गर्दछ । उ भित्रको नेतृत्व क्षमता बढाउँछ, सहीलाई सही र गलतलाई गलत हो भन्न सक्ने बनाउँछ । राजनीतिले विद्यार्थीमा सामाजिक ज्ञानको परिपूर्ति गर्ने काम गर्छ । उसलाई समाजप्रति उत्तरदायी बनाउँछ । समाजमा हुने हरेक गतिविधिसँग प्रत्यक्ष जोड्ने काम गर्दछ । विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने मानसिकताकै कारण आज हामीले देशको यो स्थितिको सामना गर्नुपरेको छ । विद्यार्थीले खेती गर्न हुने, जागिर खान हुने, व्यवसाय गर्न हुने, विदेश जान हुने तर राजनीति गर्न नहुने ? कस्तो मानसिकता हो यो हाम्रो । मानिसको दैनिक जीवनमा आउने प्रायः सबै परिस्थतिमा देशको राजनीतिले प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
आज देशमा शैक्षिक व्यवस्था गुणस्तर छैन, रोजगारीको अवसर छैन, यो छैन, त्यो छैन भन्दै बिलउना गर्छौँ हामी । तर, यो परिस्थितिको मुख्य जिम्मेवार पनि त हामी नै होला नि ! कसले भन्यौ विद्यार्थीले राजनीति गर्नु हुँदैन ? राजनीति गरे पनि असफल, फटाहा, गुण्डा प्रवृत्तिको विद्यार्थीले गर्ने हो भन्ने मानिसकता बोकेका हामीले सहि सोचका छौँ ?देशको यो परिस्थिति प्रति कति जिम्मेवार छौँ हामी आफैँ सोचौँ एक पटक । हाम्रो मानसिकता नै गलत भयो, हामीले राजनीतिलाई राम्ररी बुझ्नै सकेनौँ । सफल मान्छेले राजनीति गर्नु पर्छ, अनि मात्र त्यसको नतिजा पनि सफल आउँछ । यो मानसिकताको विकास कहिले गर्ने हामीले । हिजो विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्दै दुई चारजना गुण्डा, फटाहको हुल पछाडि राखेर हिँडेको मानिसलाई देशको तालाचाबी सुुम्पिएको नतिजा आज हाम्रो आँखा अगाडि प्रष्ट छ ।
हामी त्यसलाई नै फेरि राजनीतिको मर्म नाप्ने यन्त्र बनाएर विद्यार्थीलाई राजनीतिबाट पर धकेल्दैछौँ, अनि फेरि भोलिको यस्तै नतिजा रोपण गर्दैछौँ ।विरुवा जस्तो रोप्यो, फल त्यस्तै त लाग्ने हो । सायद त्यो बेलादेखि नै विद्यार्थीले नै हो राजनीति गर्ने भन्ने कुराको विकास गरेर हाम्रो समाज अगाडि बढेको थियो भने देशले पनि विकासको गति लिन्थ्यो होला । विद्यार्थीको पहिलो काम पढ्ने हो । पढेको कुरालाई व्यवहारमा उतार्न राजनीतिले मद्दत गर्छ । अन्यायको विरुद्ध लड्न र न्यायको पक्षमा उभिन सिकाउँछ । विद्यार्थी आफैँमा एउटा बौदिक हतियार हो र त्यो हतियारलाई तिखार्ने काम राजनीतिले गर्छ ।
राष्ट्र चलाउने नीति राजनीति हो । देश भित्रको हरेक गतिविधि राजनीतिसँग प्रत्यक्ष, अप्रत्यक्ष जोडिएकै हुन्छ । नमरी स्वर्ग देखिँदैन भनेझैँ राजनीति पनि बुझ्नलाई त्यसको अध्ययन र अभ्यास गर्नुपर्छ । अनि देशको एउटा कर्णधारलाई राजनीति गर्नु हुँदैन भनेर भन्नेले कति जिम्मेवार बनाउँछ त हामीलाई देशप्रति । आजका विद्यार्थी, भोलिको डाक्टर,पाइलट,इन्जिनियर हुन् भने त्यही विद्यार्थी भोलिको प्रधानमन्त्री, राष्ट्रपति किन हुन सक्दैन । राजनीति फोहोरी खेल हो भन्ने गरिन्छ । तर, वास्तवमा राजनीति फोहोरी खेल नभएर त्यहाँ रहेका मानिसहरु फोहोरी हुन् । अनि फोहोरी देखिएको हो राजनीति । विद्वान तथा सफल व्यक्तिलाई राजनीतिबाट राखेर खराब प्रवृत्तिको मानिसलाई हामी आफैँले प्रोत्साहन गर्दै देशको उच्च ओहोदामा पु¥याइरहेका छौँ ।
विद्यार्थीले राजनीति गर्नुहुँदैन भन्नुको अर्थ चाहिँ के त ? त्यसो भए के देश चलाउने जिम्मा सधँै अशिक्षित तथा गुण्डा, फटाहाहरुलाई दिने हो त ! यदि शिक्षित व्यक्ति देश चलाउने स्थानमा पुगे न देश पनि राम्रो हुने हो । सामान्य अर्थमा जसले जे जानेको छ उसले त्यही गर्ने हो । विद्यार्थीसँग समाज, विज्ञान, भाषा,सबै कुराको ज्ञान हुन्छ । त्यही ज्ञानलाई देशको विकासको पक्षमा प्रयोग गरेर देशलाई सबल बनाउँन सक्छ, एउटा विद्यार्थीले भने किन नभन्ने विद्यार्थीले राजनीति गर्नुपर्छ भनेर । जबसम्म विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने मानसिकताबाट माथि उठेर राजनीति गर्ने भनेकै विद्यार्थीले हो भन्ने मानसिकताको विकास हामीमा हुँदैन, तबसम्म देश विकासको कल्पना नगरेकै राम्रो । सोचमा सकरात्मकपन ल्याउन जरुरी छ ।
राजनीति देशको मेरुदण्ड हो र सबैलाई लाग्छ नै कि देशको मेरुदण्ड दह्रो हुनुपर्छ, अनि मात्र देश स्वस्थ्य रहन्छ । र त्यो मेरुदण्ड दह्रो बनाउने क्षमता विद्यार्थीसँग मात्रै हुन्छ ।त्यसैले राजनीति विद्यार्थीले नै गर्ने हो । सामान्य विद्यार्थीले मात्रै नभई राजनीति क्याम्पस उत्कृष्टले गर्ने हो, क्याम्पस उत्कृष्टले मात्रै नभइ जिल्ला उत्कृष्ट, जिल्ला उत्कृष्टले मात्रै नभइ राष्ट्रको उत्कृष्ट विद्यार्थीले गर्ने हो । अनि मात्र देश बन्छ, अनि मात्र हामी बन्छौँ ।