२०८१ पौष ३, बुधवार , ०६:२७:४२ बजे

Sajhamanch
'

अब हामी आफैं बोल्छौ ……….

मङ्गलवार, माघ २१, २०७६

भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ ।

हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरु नै हुन् । आगामी समयका समाजका मार्गदर्शक बालबालिका नै हुन्छन् । तसर्थ बालबालिका कुन बाटोतर्फ अग्रसर हुँदैछन् समयमै अभिभावक र शिक्षकले ध्यान पुर्याउन जरुरी हुन्छ ।

यिनै भविष्यका कर्णधार भनिएका बालबालिकाहरु हिजोआज विभिन्न क्षेत्र र परिवेश अनुसार सक्षम र अब्बल हुँदै अगाडि बढिरहेका छन् । सानासाना नानी, यिनीहरुले यस्तो काम पनि गर्न सक्छन् ? जस्तो आभास पनि बेलाबेला हुनेगर्छ । तर तिमीहरुले गर्नुपर्छ, गर्न सक्छौ, गर भनेर बालबालिकालाई अभिप्रेरणा दिने काम शिक्षक अभिभावकले गर्यो भने साँच्चै नै अबब्ल बनेर देखाउने साहस बालबालिकामा हुन्छ ।

पछिल्लो समय किताब पढ्नु अनि राम्रो जीपीए ल्याउनु मात्र सिकाई हो भन्ने आम अभिभावकको सोचमा बिस्तारै परिर्वतन आउन थालेको छ । बिर्तामोडमा बाल क्लबको माध्यमबाट आवद्ध रहेर कामगर्दै आएका बालबालिकाहरु खुशी र आत्मविश्वासका साथमा अगाडि बढेको पाइन्छ । गत भदौ २८ गते बाल दिवसको अवसरमा मनकामना बालक्लबका अध्यक्ष सलिना दाहालले बिर्तामोड नगरपालिकामा बाल इजलाश कक्ष छ भन्ने प्रश्नमा नगर प्रमुख एकछिन् अल्मलिँदै न्यायिक समिति नै इजलास भएको उत्तर दिन बाध्य भएका थिए । यस्तै धेरै बालबालिकाको प्रश्नमा कति त अनुत्तरित नै रहे ।

अहिले झापामा बालबालिका कार्यक्रममा सभाध्यक्षदेखि सञ्चालकसम्म र मन्तव्य प्रस्तुत गर्नेलगायतमा बालबालिकाहरु अगाडि छन् । यस्तै बिर्तामोडमा रहेको सृजनशिल एकता बालक्लबका अध्यक्ष मनिस न्यौपाने धेरै कार्यक्रममा अध्यक्षता गरिरहेका हुन्छन् । उनी भन्छन्, ‘ठूला मान्छेका अगाडि अप्ठ्यारो लाग्थ्यो, अहिले आँट आउँछ, बोल्न सक्छु ।’ विद्यालयमा आयोजित एउटा कार्यक्रम सञ्चालन गरिरहेका श्रेया ढुंगाना र कन्चन थापा स्टेजमा पुगेर मुस्कुराउँछन् । कक्षा कोठाभन्दा उनीहरुलाई स्टेज प्यारो लाग्न थालेको छ । माइक्रोफोन लिएर आफ्ना शिक्षक, अभिभावक र साथीहरुका बीचमा मज्जाले कार्यक्रम सञ्चालन गरिरहेको देख्दा लाग्छ उनीहरु विद्यार्थी नै होइनन् । कुनै रेडियो टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् वा कोही व्यवसायिक एमसी (मास्टर अफ सेरेमोनी) पो हुन् कि !

‘हामी पहिला जति भावनामा बग्थ्यौं त्यति नै धेरै डराउने हुन्थ्यौं । अहिले डर होइन हामीसँग योजना छ’ ग्लोरी बाल क्लबकी अध्यक्ष रक्षा बजगाईं सुनाउँछिन् । ‘सरहरु त हाम्रो साथी पो हुनुहुँदो रहेछ, जिम्मेवारी पाएपछि महशुस गर्न थालेका छौं, बाबा मामु सरहरुले मिटिङमा जानुछ भन्दैगर्दा लाग्थ्यो, कस्तो हुन्छ होला मिटिङ भनेको !? तर आज आफैं बैठकको अध्यक्षता गरिरहँदा या एजेण्डा प्रस्तुत गर्दा उहाँहरु भन्दा म कम नभएको महशुस गरिरहेकी हुन्छु’ बेलाबेला हाँस्तै बजगाईं सुनाउँछिन् ।

मनकामना स्कूलका पिन्सिपल केशब ढुंगाना भन्छन्, ‘शुरुमा केटाकेटीले गरेको कार्यक्रम बिगार्छन् होला, बोलाएका अतिथि रिसाउँछन् होला, बोल्दा सबै लथालिंग पार्छन् अनि कार्यक्रम पनि भताभुंग हुन्छ होला जस्तो लाग्थ्यो तर उनीहरुले एक्सयुज पाउँदा रहेछन् । बिगार्दा पनि सबैजना दंग हुन्छन् ।’

परबाट तिखो आवाज सुनेँ, दुई चारजना साना बालबालिकाहरु नजिक आएर हाम्रो कार्यक्रम यता भन्दै फूलका गुच्छा दिँदै स्वागत गरे । अनि म हलभित्र प्रवेश गरेँ । पोडियम भन्दा झन्नै झन्नै सानो हाइट, अनुहार देखिएन टाउको अलिकति देखें, आवाज भने बुलन्द आइरहेको थियो ।
‘सभाध्यक्षसँगै स्वागत मन्तव्यमा झन्नै झन्नै तोतेबोली नै थियो होला । तर त्यहाँ उर्जा थियो । मैले मेरो बाल्यकालको अवस्थालाई सम्झिएँ अनि ती नानीहरु देख्दा उनीहरु जतिको छिटो परिवर्तन हामी हुनसकेका रहेनछौ भन्ने अनुभूति भयो’ बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईं अनुभव सुनाउनु हुन्छ ।

सामाजिक सञ्जालमा देखिने विभिन्न सामग्री भिडियोहरुमा बालबालिकाहरुले गरेको प्रस्तुतिले निकै भावुक बनाउने गरेको छ । विद्यालयको व्यस्तताले अरु कार्यक्रममा जान नपाए पनि बालबालिकाको कार्यक्रममा सकेसम्म जाने गरेको प्याब्सन झापाका सहसचिव गंगाप्रसाद निरौला सुनाउनु हुन्छ ।

नेपालमा अझै पनि यस्ता बालबालिका छन्, जो शिक्षाबाट बञ्चित हुन् । बालबालिका भनेका भविष्यका कर्णाधार मात्र हैनन् वर्तमानका यथार्थ पनि हुन् । राज्य तथा परिवारको उचित संरक्षण र हेरचाह बिना देशमा कयौं बालबालिकाहरु स्वास्थ्य सुविधा तथा खोपहरुबाट बञ्चित हुनपुगेका तथा विद्यालयको पहुँचबाट टाढा रहेको अवस्था छ । उनीहरुलाई गुणात्मक शिक्षा र जीवन उपयोगी सीप प्रदान गर्न परिवार, समाज र राज्यको दायित्व हो ।

सम्बन्धित खबर