हाम्रो राष्ट्र भाषा नेपालीप्रति हाल आएर चौतर्फी आक्रमण भइरहेको छ । नेपाली भाषा माथिको यो प्रहार केवल कुनै एक पक्ष वा वर्गले मात्र होइन । यस भाषाको लोकप्रियताबाट इष्र्यालु बनेका देशी–विदेशी शक्तिहरु योजनाबद्ध रुपमा लागेका छन् । नेपाली भाषाको सर्वस्वीकार्यता देखेर यसको महत्व र जनप्रियतालाई नियन्त्रण र न्यूनीकरण गर्न जानी नजानी राज्य र यसका विभिन्न संस्थाहरु पनि सक्रिय रहेको पाइन्छ । मुलतः गणतन्त्र र संघीयतावादीहरु यस्तो कार्यको नेतृत्व गरिरहेका छन् । क्षेत्री बाहुनको भाषालाई किन राष्ट्र भाषा मान्ने ? भन्ने सम्मका तर्क विगतमा नभएका होइनन् ।
कथित क्रान्तिकारी जडसूत्रवादी र जातीयवादीहरु नेपाली भाषाको सर्वस्वीकार्यता देखेर अत्तालिएका छन् । प्रष्टरुपमा भन्नुपर्दा, अंगे्रजी मोहमा लठठ् परेकाहरु, अंगे्रजी विद्यालयका सञ्चालकहरु, कथित शैक्षिक परामर्शदाताहरुले अंगे्रजी र अंग्रेजलाई देउता मानेर नेपाली भाषा माथि निरन्तर प्रहार गरिरहेका छन् । सत्ता शासक र सञ्चालकहरु अनि उच्च राजनीतिक नेतृत्वलाई नेपाली भाषाको माया नभएको जसरी नैप्रस्तुत भइरहेछन् । अंग्रेजी नजान्ने, नपढ्ने, नबोल्ने त मान्छे नै होइन भन्ने मानसिकताले घर गरेको छ । सबैसबै अंग्रेजी भाषा नै हो भन्ने हामी सर्वसाधारणको आम मानसिकताका कारण पनि नेपाली भाषा संकटमा पदैछ भन्ने आत्मविश्लेषण हो ।
बाबुआमाहरुलाई पनि आफ्ना छोराछोरीले अंग्रेजीमै बोलुन्–लेखुन्–पढुन् भन्ने लाग्नेगर्छ । बरु नेपाली नजानोस्, नबोलोस्, लेख्नै पनि नजानोस् त्यसको चिन्ता छैन तर अंग्रेजीमा फट्फटाउन–बक्बकाउन सक्यो भने के के न गर्यो भन्दै तीन हात माथि उफ्रिन्छन् । तिनका बाबाआमा नै जानी नजानी एक चौथाई अंग्रेजी र अर्का चौथाइ हिन्दी मिसाएर बोल्ने गर्छन् । विद्यालयमा त नेपालीमा बोल्नै दिँदैनन् । अंग्रेजी विद्यालयवालाहरु घरमा समेत छोराछोरीलाई अंग्रजी बोल्न उत्साहित–प्रोत्साहित गर्छन् । अनि कसरी आजका बालबालिकाहरुले नेपाली विषयलाई भाषालाई माया र प्रेम गर्छन् त !
विद्यालयमा नेपाली विषयलाई भाषालाई उति महत्व दिइन्न जति अंग्रेजीलाई दिइन्छ । हाम्रा वरिपरि यस्ता पनि स्कूलहरु छन्, जहाँ अग्रेजी नबोलेमा दण्डको भागी बन्नुपर्छ । यो कस्तो व्यवस्था हो हाम्रो ? मुलुकको राष्ट्र भाषालाई नै यसरी अपहेलना गर्न मिल्छ ? तिरस्कार अनि बहिस्कार गर्न मिल्छ ? जसलाई नेपालीप्रति कति पनि रुची छैन । हो, उनीहरुकै कारण नेपाली भाषा अपहेलित बन्दैछ । अझ पाखे, पर्वते, गोर्खे, पहाडे भन्दै नेपाली भाषाको अपमान गरिँदैछ । यो मन्द विष सर्वत्र फैलँदैछ र केही समय पछि यसले फल पनि दिन थाल्नेछ ।
देशभित्र बोलिने सयभन्दा बढी राष्ट्र भाषाहरुको विकास र संरक्षण गर्नुपर्छ । तिनको प्रचार प्रसार र अध्ययन हुनुपर्छ । सबै जात जातिले आ–आफनो भाषाको श्री वृद्धिमा लाग्नुपर्छ । यसको विकास र उन्नतिमा सरकारदेखि पालिकासम्मका सबै पक्षहरु लाग्नुपर्छ । आदिवासी जनजातिले आफ्नो भाषा बोल्नु, लेख्नु र पढ्नु पर्छ । घरघरमा राष्ट्र भाषाका रुपमा आ–आफ्ना जातीय भाषाहरु बोल्नुपर्छ । यो राम्रो कुरा हो तर आफ्नो भाषाको विकास, उन्नति, विस्तार र संरक्षण गर्न नेपालीको मान मानमर्दन गरिरहनु पर्दैन । नेपालीलाई होच्याउन अपहेलना गर्न र तिरस्कार घृणा गर्नु हुँदैन, यो हामी सबैको परम कर्तव्य हो ।
अब नेपाली भाषा सामान्य भाषामात्र होइन । यो त राष्ट्र भाषा हो । सरकारी कामकाजको प्रशासनिक भाषा हो । सन्चार सम्पर्क, रेडियो टेलिभिजन, दुरसञ्चारदेखि सम्पूर्ण पठनपाठनको माध्यम भाषा पनि हो । यो नेपालभित्र बस्नेहरु अधिकांशले बोल्ने र बुझ्ने भाषा पनि हो । यो देशैभरि संचार सम्पर्कको साझा भाषा पनि हो । जनसम्पर्कको माध्यम भाषा मात्र होइन, साहित्य लेखन, वाङ्मय र शास्त्रहरुको लोकप्रिय अभिव्यक्तिको माध्यम भाषा हो ।