२०८२ वैशाख २१, आइतवार , ०८:२३:५६ बजे

Sajhamanch
'

झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको तयारी, एथलेटिक्स प्रशिक्षक विष्टको विदाइ

आइतवार, वैशाख २१, २०८२

रोहित काफ्ले

भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ ।

आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति झापाको हालै सम्पन्न बैठकले झापाको अर्जुनधारामा आगामी जेठ ८ देखि १० गतेसम्म कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका सबै जिल्ला खेलकुद विकास समिति र वक्सिङ संघहरुलाई प्रतियोगिता सम्बन्धमा पत्राचार गरिएको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्ने बताइएको छ ।

स्वास्थ्य, सुरक्षा र आत्मरक्षाको दृष्टिकोणले खेलकुदको महत्वपूर्ण विधामा पर्ने वक्सिङप्रति युवाहरुको आकर्षण बढाउने र वक्सिङ खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

एथलेटिक्स प्रशिक्षक विष्टको विदाइ

एथलेटिक्स विधाको प्रशिक्षकको रुपमा झण्डै डेढ दशक झापा जिल्ला खेलकुद विकास समितिमा कार्यरत रही अनिवार्य अवकाश लिएकी नर्वदा विष्टलाई समितिले सम्मानसहित विदाइ गरेको छ ।

झापा जिल्ला खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकको रुपमा वि. सं. २०६९ सालमा नियुक्ति लिई विष्टले आफ्नो क्षमता र कुशलताबाट एथलेटिक्समा अब्बल खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

यही बैशाख १५ गतेदेखि अवकाश लिएकी झापा दमक निवासी विष्टलाई समितिकै सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच मायाको चिह्नोसहित सम्मानपत्र प्रदान गर्दै विदाइ गरिएको समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

विष्टलाई अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेललगायत समितिका सदस्य, कर्मचारीहरुले खादा, माला पहिर्याएर सम्मान पत्र हस्तान्तरण गर्दै विदाइ गरेका थिए ।

सोक्रममा अध्यक्ष भण्डारीले विष्टको सेवानिवृत्त सफल जीवनको कामना गर्दै समितिले आवश्यकता अनुसार उनको एथलेटिक्स अनुभव र क्षमतालाई सधैँ उपयोग गर्ने बताए ।

सम्बन्धित खबर