
फोन सधैं मैले मात्रै गर्नु पर्ने हो र ? मैले नगर्दा उनीहरुले गर्छन् कि गर्दैनन् ! हेरौँ न । उनीहरुले मलाई कत्तिको सम्झिँदा रहेछन् मात्रै के भन्दै थिएँ । साथीकै फोन आयो । आँखा त रसिलो रसिलो छ त, रोइस् कि क्या हो ? अँ हौ, युट्युवमा कृष्ण धारावासीको उपन्यास आधाबाटो सुनेको मलाई त कस्तो रुन पो आएछ ।
सुख कस्तो हुन्छ भोग्नेै नपाई, दुईछाक पेटभरी खानै नपाई, पहिला पहिलाका मान्छेहरु कति मरे होलान् नि ! त्यो आत्मकथामा पनि बुवा उहिले मरेका रहेछन् । भगवानले अलि लामो आयु दिएको भए केही सुखको अनुभूति गर्न त पाउने थिए होला कि ।
धन्न, आमाले चाहिँ छोराछोरीको प्रगति र नाति नातिनाहरु जन्मेर केही समय भए पनि खेलाउन पाइछन् । अहिले त पैसाको अभाव छैन । खान र लगाउन कै लागि कुनै समस्या छैन । अहिलेसम्म बाँचिरहेको भए कति सुखले राख्थे होला नि बुवालाई । जब आमाबुवा थिए, त्यतिखेर सिङ्गो परिवार अभावै अभावमा गुज्रिनु परेको थियो । अहिले खानलाउन पुग्ने सम्पत्ति छ तर आमा बुवा छैनन् ।
अहिले हामीसँग अलि अभावै छ, छोराछोरी पढाउनै पर्यो, बिरामी भइरहन्छन् हस्पिटल कुदाइहाल्नु पर्यो । चाडपर्व, कहिले काहीँ मिठो मसिनो पनि खानै पर्यो । तिनै छोराछोरी पढाउन भनेर गाउँ छोडेर यता बजार आइएको छ । कति छिटो दिन जान्छ, महिना बित्ने बित्तिकै घरभाडा पनि तिर्ने पर्यो । एकजनाको कमाई आफूलाई जसोतसो चाहिँ पुगेको छ । माइतका आमाबुवाको आफ्नै केही भए पनि कमाइ छ र अलि पीर लाग्दैन । यता घरतिर चाहिँ कहिले घर बनाउनु र सासू ससुरालाई आनन्दले राख्नु होला जस्तो लाग्छ ।
त्यो दिन पनि आउँछ पक्कै । तर, डर लाग्छ कतै ढिलो पो हुने हो कि ! त्यतिखेर सम्ममा बुवाआमालाई गुमाइ पो सक्ने हौँ कि । प्रायः सबैको त्यस्तै भएको देखिन्छ । बुवाआमा जिउँदो रहँदासम्म इच्छा हुँदाहँुदै पनि दिन पुग्दैन । अनि मरेपछि आमाको यस्तो इच्छा थियो, बुवाको यस्तो थियो, पुर्याउन पाइएन भनेर जीवनभर मनमा खड्किई रहन्छ । तर आर्थिक रुपमा सम्पन्न कत्ति मान्छेहरुले समय रहँदै आमाबुवाको महत्व नबुझेका पनि छन् । त्यस्ताहरुलाई के भन्न सकिन्छ र ?
विवाह पश्चात घर, परिवार, छोराछोरी व्यवहारले थिच्दो रहेछ । यस्तो गरौं, उस्तो गरौं भन्ने त कति लाग्छ लाग्छ । कहिले काहीँ गर्नुपर्ने हो भन्दा भन्दै पनि बाध्यता र विवशताले गर्दा गर्न नसकिँदो रहेछ । त्यतिखेर खुब पीडा हुन्छ । पहिला सन्तानलाई हुर्काउन कति दुख गर्नुभयो । अहिले आफूले सोचेजस्तो गर्न सक्या छैन । उनले एकै सासमा आफ्नो कहिरन सुनाइन् ।
आज पनि सपनामा पहाड नै देखेँ । घरदेखि मुन्तिरको खेतको गह्रो पहिला त सानो थियो, अहिले त ठूलो भएको रहेछ । त्यो खेतमा जोत्नलाई मल फिजाउन भ्याइनभ्याई थियो । सपनामा पहाड देखिरहन्छु । एकपटक पुग्न मन छ तर हातखुट्टा लाग्दैनन् । मन लागेर मात्रै कहाँ हुने रहेछ र ? केही दिन अघि एक हजूरआमासँगको भेटमा भएको कुरा ।
पहाड अनि त्यहाँ गरेको त्यो बेलाको दुख सम्झेर हजूरआमाका आँखा रसाए । उहाँले लामो श्वास फेर्दै खुइय… गर्नुभयो । कठै, ती खेत, ती बारी त्यो भीर पाखा, वन जङ्गल, त्यो घर कस्ता भए होलान् नि ? रातभर ढिकी जाँतो गरिन्थ्यो । कति बज्यो भन्ने पनि थाहा हुँदैन थियो । एकछिन सुतेजस्तो लाग्थ्यो, उज्यालो भइसक्यो पानी लिन अबेर हुन्छ । कत्रोबेरसम्म सुत्न सक्दा रहेछन् भन्दै आमा आइपुग्नु हुन्थ्यो ।
एक गाग्री पानी लिन दुई घण्टा उकालो हिंड्नु पथ्र्यो । गाई वस्तुलाई पनि पानी बोेकेरै खुवाउनु पर्ने । गाई वस्तु लिएर जङ्गल गयो, आउँदा गाई वस्तुसँगै मान्छे भन्दा ठूलो दाउराको भारी ल्याइन्थ्यो । घाँस काट्यो, गोबर सोर्यो, खेतबारीको काम, रोपाई गोडमेल फेरि बाली भित्राउने काम त कति हो कति । टुसुक्क बस्न कहाँ पाइन्थ्यो र ? बस्न त पाइएन, खान पनि पेटभरी पाइएन । फेरि उमेर नै त होला नि जति काम गर्दा पनि शरीर गल्दैन थियो ।
हजुरआमा सम्झिनु हुन्छ, एकरात भाले मजाले बास्यो, उज्यालो भयो भनेर पानी लिन पँधेरो गयौं । सधै पनि भाले बासेरै हो जाने त । पानी लिएर घर आइयो, ढिकी, जाँतो, घर धन्दा सबै गर्दा पनि अझै उज्यालो भएन । अनि पो डर लाग्यो बाघ भालुको, भूत देखेको त होइन ? सुनेकै कुराले डराएर काम नै छुट्यो पछि त ।
काम गर्न जाँगर कति चल्थ्यो । अहिले सपना हो कि, विपना जस्तो लाग्छ । अहिले त तिमेरलाई सुनाउँदा ढाँटे जस्तो लाग्छ । पत्याउँदैनौ । हुन त त्यतिखेर सबैलाई दुःखै थियो । धनीमनी भनाउँदालाई नि कामको दुःखै थियो । अहिले त यस्तो सुख, आनन्द छ । तै पनि अहिलेकालाई हुँदैन । हामीलाई त अहिले बुढेसकालमा भए पनि यतिको सुखभोग गर्न पायौं ।
हाम्रा बाबैआमैको दुःखैदुःखमा जीवन सकियो । अहिलेसम्म बाँचिरहेका भए केही सुख दिन, केही मिठो मसिनो खान दिन पाइन्थ्यो कि जस्तो लाग्छ । यसो भनेर उही एकछिन मन बुझाउनु त होला नि । लोकमा आएपछि मान्छेको चोला, नगई कहाँ होला ।?
अहिले सम्झिन्छु, माथि सिरानघरकी जेठी बुहारीका तीनजना छोरी र दुईवटा छोरा थिए । सबैको काम खेतीपाती नै त हो । खै गर्नै नजाने र हो कि, समय नै त्यस्तो हो । जमिन थोरै, परिवारका सदस्य धेरै भएर पो हो कि, खानै नपुग्ने उब्जनी । केटाकेटी बर्सेनीका जस्तै थिए । मेलापात गर्दा बेलाबेला भेट हुन्थ्यो । फूर्तिली थिइन् । खुब काम गर्थिन् । भन्थिन्, टन्न खान पाए त काकी काम गर्न मलाई पटक्कै अल्छि लाग्दैन । एकछिन बसांै जस्तो पनि लाग्दैन । गरिरहनै मन लाग्छ । त्यो बेलाको समय खाना मात्रै जुटाउन पनि मुस्किल ।
पेट दुखेर साह्रै, विचरा एक्कैछिनको बिमारले उमेर मै भगवानको प्यारो भइन् । धाँमीझाँक्रीको मा कुदाए । के ठिक हुनु र ? साना छोराछोरी बेलैमा टुहुरा भए । अहिलेजस्तो हस्पिटल भएको भए तिनी बाँच्थिन् होला । अहिले लाग्छ, तिनलाई एपेन्टीसाइड्स भएको थियो । अहिले तिनका छोराछोरीहरुले राम्रो गरेका छन् । बिचरीको दुःखैमा उमेर छँदै जोवन गयो ।
अस्ति माइली छोरीसँग फेसबुकमा कुरा भयो । आमाको अलिअलि मात्रै सम्झना होला तिनलाई । आमा अहिलेसम्म बाँचिरहेको भए त रानी नै बनाएर राख्थेँ, के गर्नु ठूलीआमा बेलैमा जानु भयो भनेर दुखेसो पोख्दैथिई ।
के गर्नु यस्तै रहेछ नानी संसार । कसैको टुङ्गो हुँदैन । कुन बेला भगवानको प्यारो भइन्छ थाहा हँुदैन । अरुलाई जे जस्तो भए पनि बुबाआमालाई राम्रो गर्नुपर्छ है । गए पछि त गए गए नि, जति रोए कराए पनि फेरि आउँदैनन् । समय रहँदै बुवाआमाको महत्व बुझेकै राम्रो हो नि ।