शिवसताक्षी । विगत लामो समयदेखि लाग्दै आएको कनकाई माइमेला यसवर्ष गएका वर्षभन्दा व्यवस्थित हुने जनाइएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमा यही पुष २८ गतेदेखि मेला लाग्ने भएको हो । शिवसताक्षी नगरपालिकाले वडा नं. १० को कार्यालयलाई मेला लगाउन अनुमति दिएको छ ।
गएको वर्षमा ठेक्का मार्फत मेला लगाउँदा मनोमानी ढंगले व्यापारीबाट ठेक्केदारले शुल्क उठाएपछि नगरपालिकाले यसवर्ष आफैं मेला लगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
वडाले मेलाका अवधिमा सडक र कनकाई पूलमा जाम हुन नदिन कनकाई नदीमा वैकल्पिक पूल निर्माण थालेको छ । वडा नं. १० का वडाध्यक्ष हर्क सिगुका अनुसार मेलाका लागि भिटौरीहरु नापेर सबै तयार गरिएको छ । व्यापारीहरु सम्पर्कमा आउन थालेका छन् । वडाले थोरै मूल्यमा भिटौरी दिने निर्णय गरेको वडाध्यक्षले सिगुले जानकारी दिए ।
यसवर्ष मकर नुहाउन आउने र राति मेलामा बस्ने भक्तजनहरुलाई मध्यनजर गर्दै आगो ताप्ने व्यवस्था समेत मिलाइने वडा कार्यालयले जनाएको छ । बिहान चिसो हुने भएकाले कनकाई नदीको किनारमा ५ स्थानमा आगो ताप्नेसमेत व्यवस्था गरिने वडाध्यक्ष सिगुले बताए । उनले सामुदायिक वनबाट ठूला ठूला मुढा र दाउरा झिकाएर बिहान र राति आगो बाल्ने व्यवस्था गरिएको बताए ।
कनकाई नदी किनार धार्मिक क्षेत्र भएकाले त्यस स्थानमा शाकाहारी होटल र माइधारको पश्चिम बस्टेण्ड उत्तर मांसाहारी होटलहरुलाई भिटौरी दिने व्यवस्था मिलाइएको वडा सदस्य दिपक पोख्रेलले जानकारी दिए ।
मेलाका लागि ७ वटा शौचालय निर्माण गरिने भएको छ । शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले १०० जना प्रहरी पठाउने र प्रहरीको खाने र बस्नेको व्यवस्था माइधार बजार विकास समितिले गर्ने भएको बताइएको छ । मेलामा प्रहरीसँगै ५० जना स्वयमसेवक, स्काउट र रेडक्रस लगायतले समेत सेवा दिने .छन् ।
वडाध्यक्ष सिगुले भने, वडाले तथा नगरले यहाँ आउने व्यापारीहरुले मनोमानी मूल्य तोकी व्यापार गर्न पाउने छैनन् । हामीले भिटौरी सस्तो गरेसँगै व्यापारीहरुले पनि ग्राहकलाई सहुलियत ढंगले व्यापार गर्नुपर्ने छ । त्यसको अनुगमन नगर तथा वडाले गर्ने वडाध्यक्ष सिगुले जनाए ।
मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सर्कस, बुगीवुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलतमासाहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।