- सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनी मेलासहितको चासोक तङ्नाम पर्वको तयारी पूरा भएको छ ।
किरात याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दूधे रङ्गशालामा मिनी मेलासहितको बृहत चासोक तङ्नाम पर्व मनाउने तयारी पूरा भएको आयोजकले जनाएको हो ।
चासोक तङ्नाम पर्वको लागि मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक किरात याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एकतले मौलिक घर निर्माण गर्दै आएकोमा यो वर्ष २ तले निर्माण गरिएको जानकारी दिए ।
पछिल्लो समय चासोक तङ्नामलाई जातीय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले बताए ।
उनले चासोक तङ्नाम सप्ताहव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रममा आउने आगन्तुकहरुले लगाएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने बताए ।
त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । आयोजक संस्थाले सञ्चालन गर्न मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरिएको छ ।
मेलामा विभिन्न जातीय भेषभुषा, जातीय खानाको परिकार, लिम्बू जातिको संस्कृति जोडिएका सामग्रीहरुको प्रदर्शन तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ । मेलामा सांगीतिक कार्यक्रम बेलुकी ६ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ ।
मिनीमेला संयोजक अग्नि राईका अनुसार मेलाका लागि ३५ वटा स्टलहरु निर्माण गरिएको छ । भोलि सोमबार ४ बजे शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने कार्यक्रम रहेको राईले बताए । मिनी मेलामा प्रत्येक दिन बेलुकी हाउजी खेलसमेत खेलाइने बताइएको छ ।
मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए । थोप्राका अनुसार मेलामा आउने गायकहरुबाट लिम्बू भाषाका गीतहरु समेत प्रस्तुत गरिने छ । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका लागि खेलहरुका लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने छन् ।