२०८१ असोज ३०, बुधवार , ०६:०२:५८ बजे

Sajhamanch
'

लेखापढी कानुन व्यवसायी संस्था स्थापनाको सार्थकता

सोमवार, असोज १४, २०८१
  • युवराज कार्की (पर्वत)

नेपालको झापा जिल्लाले तराईको एक महत्वपूर्ण भू–भाग ओगटेको छ । पूर्वमा मेची नदी, भारतको पश्चिम बंङ्गाल तथा विहार, पश्चिममा मोरङ्ग जिल्ला र उत्तरमा इलाम जिल्लाको बीचमा झापा पर्दछ । कुनै समयमा यो ठाउँ मोरङ्गको एउटा प्रशासनिक इकाई मात्र थियो । जङ्गलामुलुक रहेको यो ठाउँ, सबैतिर जंगलै जंगलले ढाकिएको र छरिएको हुनाले राजवंशी भाषामा यसलाई ‘झापाल’ भन्ने गरिएको थियो । पछि प्रशासनिक अड्डा पनि जंगलको बीचमा नै भएको र जंगलै जंगलले ढाकिएको ठाउँ झापालबाट नै झापा नाम रहन गएको थियो भन्ने राजवंशी समुदायका पुराना मानिसले भन्ने गरेको अझै पनि सुनिन्छ ।

तत्कालिन अवस्थामा राइटर, मौजा, तालुकदार, जिम्मावाल, पटुवारी बोकाहा लगायतका विभिन्न नामबाट विभिन्न ठाउँमा हामी हाम्रा स्वरुपहरुलाई सोहीे समय परिस्थिति अनुसार सेवा प्रदान गर्दै आयां । तथापी कानुन व्यवसायी ऐन २०२५ मा समेत नसमेटिएको हाम्रो व्यवसायलाई दोस्रो संशोधन गरी दफा १८ (क) बमोजिम कानुनीरुपमा हाम्रो स्वरुप निर्धारण गरेको देखिन्छ ।

प्रजातन्त्रको पुनःस्थापना पश्चात संघ–संस्था खोल्न पाउने अधिकारको उपयोग गर्दै झापा जिल्लाभरका लेखापढी व्यवसायीहरुले पनि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नंं ६४ मा २०४८ असोज १३ गते यो संस्था दर्ता गरिएको हो । झापामा जिल्लास्तरीय लेखापढी व्यवसायिक सङ्गठन झापा नामक संस्था दर्ता गरेपछि मुलुकभर नै हाम्रो प्रकृतिका पेशाकर्मीहरुको संस्था दर्ता हुन थाल्यो । यो सोच बनाउने तत्कालिन पेशाकर्मी अग्रजहरुप्रति म यस अवसरमा स्मरण गर्दै हार्दिक नमन गर्न चाहन्छु ।

युवराज कार्की (पर्वत)

आज हामी हाम्रो संस्थाको ३४औं स्थापना दिवस मनाइरहेका छौं । यो संस्थाले स्थापनाको वर्षदेखि संस्थागत रुपमा नै व्यवसायीका हकहितका लागि अनवरत लागिरहेको पनि स्मरण गराउँदछु । कानुन व्यवसायी परिषद ऐन २०५० ले झण्डै झण्डै हाम्रो पेशालाई समाप्त पारिदिएको थियो । लेखापढी सम्बन्धी नियमावली २०५१ को अधिनमा रहेर हामीले अहिले यो ब्यवसाय गरिरहनु परेको छ ।

देशभरका समान प्रकृतिको पेशा र व्यवसाय गर्नेहरुले वि. सं. २०५२ साल असोज २७ र २८ गते चितवनमा भेला भई गरिएको निर्णयानुसार सोही सालको फागुन २७ र २८ गते प्रथम राष्ट्रिय महाधिवेशन गरिएको थियो । महाधिवेशनले नेपाल लेखापढी व्यवसायी केन्द्रीय समिति गठन गरी देशभर नै सो प्रकृतिका व्यवसायीहरुलाई एउटै मालामा गाँस्न सफल भएको हो ।

झापाको सन्दर्भमा कुरा गर्दा दमक र भद्रपुरमा भूमिसुधार तथा मालपोत कार्यालय रहेकाले लेखापढी व्यवसायीहरु पनि दुईवटा ईकाईमा विभक्त हुनुपरेको छ । झापा जिल्लामा दुईवटै इकाईका रुपमा हाम्रो व्यवसायिक संस्था आजसम्म सक्रियरुपमा क्रियाशिल छ । नेपाल लेखापढी व्यवसायी समिति नामक संस्था क्रियाशील रहिरहेकोमा वि. सं. २०६२ साल फागुन २५–२७ मा पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले संस्थाको नाम परिवर्तन गरी नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन बनाइयो । नयाँ नामाकरण गरिएको संस्थालाई राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तरगत दर्ता गर्ने गरी हाल पूर्ववत नामहरुलाई एकाकार गर्दै हामीले काम गरिरहेका छौं ।

झापा जिल्लामा क्रियाशील हामी लेखापढी व्यवसायीहरुले २०५६ साल फागुनमा दोस्रो राष्ट्रिय परिषदको वैठक आयोजना गर्न सफल भएका थियौं भने २०६८ साल फागुन ५–७ मा छैटौं राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न गरेका थियौं । यस जिल्लाले देशभर नै सक्षम र सबल जिल्लाको रुपमा इतिहासमा नाम लेखाउन सफल भएको यहाँनेर स्मरण गराउन चाहान्छु ।

हाम्रो संस्थाले स्थापनाकालदेखि नै झापामा सामाजिकरुपमा पनि अन्य संघ–संस्थाहरुको तुलनामा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाहा गरिरहेको छ– चाहे बाढी पिडीतहरुको राहतमा होस् वा भूकम्प प्रकोपमा होस् वा मुलुकका राजनीतिक, सामाजिक रुपान्तरणका आन्दोलनमा नै किन नहोस् । मुलुकभरका मालपोत र भूमिसुधार कार्यालय परिसरमा सेवाग्राही मैत्री प्रतिक्षालय निर्माणदेखि संस्थागत सुधारका रचनात्मक र सकारात्मक परिवर्तमा होस् हाम्रो संस्थाले क्षमताअनुसारको काम गरिरहेको छ । संस्थामा आवद्ध सदस्यहरुको पेशागत दक्षता अभिवृद्दि गराउन र प्रविधिमैत्री सेवा संचालनका लागि पनि हाम्रो संस्था अग्रसर भइरहेको छ ।

न्यून आय भएका सेवाग्राहीहरुको लागि होस् वा शारीरिकरुपमा अशक्त होउन्, उहाँहरुको लागि व्यवसायीहरुले ‘सोचेरै’ व्यवहार गर्ने गरेको यहाँनेर स्मरण गर्नु सान्दर्भिक हुनेछ । हामी हाम्रो पेशा र व्यवसायलाई मर्यादित व्यवस्थित र सेवामुलक बनाउँदै गएकाले नै अहिले राज्यले पनि भू–सेवा केन्द्र प्रदान गर्दै हामीलाई अभिन्न अंगको रुपमा स्वीकार गरेको भुल्न हुँदैन । यसरी नै हामीले अघि बढ्दै गयौें भनेमात्र लेखापढी कानुन व्यवसायी संस्था स्थापनाको सार्थकता र निरन्तरता प्राप्त गर्नेछ । जय लेखापढी ।

(लेखक कार्की नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशनका केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेशका संयोजक हुन् ।)

सम्बन्धित खबर