२०८१ भदौ २९, शनिवार , ११:५६:४६ बजे

Sajhamanch
'

कवि ढुंगानाको मैले खोजेको देश राष्ट्रवादी भाव बोकेर आयो

सोमवार, भदौ ३, २०८१

कवि, लेखक, विश्लेषक, सम्पादक/प्रकाशक पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि. सं २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पारगर्दा पनि ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पूरा गरेर निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति हुन् जस्तो उनका कविताले आभाष दिलाउँछन् ।

भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृति विरूद्ध प्रहार गर्ने शसक्त सर्जक हुन् । स्वतन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ । वि. सं २०८१ बैशाख ६ गते दोश्रो कृतिका रूपमा प्रकाशित भएको मैले खोजेको देश कविता संग्रह राष्ट्रवादी भावसहित विद्रोह बोकेर आएको छ । उनका कविताले कवि ढुंगानालार्ई राष्ट्रवादी सर्जकका रूपमा उभ्याइदिएको छ ।

राष्ट्रप्रति निस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्रता, विकृति विसंगतिप्रति प्रहार, आजको राजनीति माथि अविश्वास गर्दै विद्रोहको ज्वाला दन्काउने प्रयास उनका कविताले गरेका छन् । मानव जीवनमा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल कविका अधिकांश कविताले मान्छेकै बेलिबिस्तार गर्दै देशप्रति माया दर्शाएर शासकीय स्वरूपको विकृति माथि चिरफारको प्रयास पनि गरेका छन् ।

समय अनुसारको आवाज र राजनीतिको अन्धोपना बीचको द्वन्द्व पनि प्रष्ट्याउने इच्छा राखेको पाइन्छ । उनका लामा छोटा गरी ७० वटा कविताले मूल रूपमा देशलाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैली जस्ता पक्षलाई मूल भाव बनाएका छन् । उनका कविताहरू फुटकर टुक्राटाक्री देखिए पनि भव प्रस्तुतिमा कुनै न कुनै रूपमा शक्तिशाली राष्ट्रवादी भावना बन्न सफल देखिन्छन् ।

मैले खोजेको देश कविता संग्रहमा ७० वटा कवितालाई ११८ पृष्ठमा बिटो कस्ने काम भएको छ । अवि खरेलले नेपालीपन झल्किने आकर्षक आवरण प्रस्तुत गरेका छन् । यस पुस्तकमा हरि अधिकारी र कृष्ण धरावासीको भूमिका, विवश पोख्रेल र प्रमोद प्रधानको कृति भित्रका कवितामा रहेका विषयवस्तु केन्द्रित टिप्पणी रहेको छ । भूमिकामा कवि राजेशलाई स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिकर्मी, पत्रकार र सफल कविका रूपमा परिचय गराउने प्रयास गरिएको छ ।

साना ठूला गरी ७० वटा कविता रहेको यस कृतिले देशको राजनीति विकृत र विसंगत बन्नुमा गोली तथा बारूदको धङधङी रहेको निचोड निकालेको छ । संग्रहित हरेक कविताले एउटा नयाँ भावलाई उराल्ने प्रयास गरेका छन् ।

नेपालमा वि सं २००७ सालदेखि वर्तमानसम्म राजनीतिका तन्त्रै तन्त्रको खात लगाइसक्ता पनि, पुस्तौँ पुस्तासम्म राजनीतिक लडाइँ लडिरहनु परेको आक्रोस भेटिन्छ । देश भ्रष्ट चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र मस्ती केन्द्र भइरहेको छ । बाँच्नका लागि नागरिककले देश छोडेर विदेशीको दास बन्नु परेको अवस्थामाथि व्यंग्य कसिएको छ । मान्छे हुन केही गर्नु पर्छ भन्ने भावना विचारका रूपमा कवितामा आएका छन् । हत्या–हिंसाबाट उम्रिएको राजनीतिले देश र जनतालाई सुख, शान्ति र समृद्धिको फल दिन सक्दैन । राजनीतिलाई नागरिकले बेइमानी, ठगी, लुट–झुट र अनैतिकता स्वाभाविक हुने खेलका रूपमा बुझ्नु पर्ने अवस्था छ । देशको हित विपरितका गतिविधि माथि कवितामा व्यङ्ग्यको वाण बजारिएको छ ।

वि सं २०७० देखि २०८० सालका बिचमा साहित्यिक तथा समचारपत्रका साहित्य अंकमा प्रकाशित कविताहरूले नेपाली मन र नेपालीपनका लागि गाँसिएका अक्षरहरू जोडेर देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका छन् । यस कविता संग्रहले सरल शब्दभित्र प्रभावकारी बिम्व र उत्कृष्ट काव्य शिल्प प्रयोग गरेको देखिन्छ । मान्छे उन्मुक्त स्वतन्त्रता प्रेमी भएको ठान्ने कवि ढुंगानाले मान्छे भित्र लुकेका अहम् र विकृति बिरूद्ध भने खरो प्रहार समेत गरेका छन् ।

‘मैले खोजेको देश’ कवितासंग्रह सुन्दर कलात्मक आवरणले सजिएको छ । आवरणको पृष्ठभूमिमा दृश्यचित्रले नेपालको हिमाल पहाड र तराईको भौगोलिक स्वरूपलाई एकाकार गरेर देखाएको छ । हरेक कविताहरू विम्व र कलाले भरिएका छन् । गहन भावसित गाँसिएर उत्कृष्ट अभिव्यक्तिका रूपमा आएका छन् । कविता पढ्दा पाठकले आनन्दानुभूति गर्ने अवसर पाउने छन् ।

उनका कविताले मन र मस्तिष्कलाई सोचनीय बनाउने छन् । हाम्रो संकुचित समाजमा कतिपय शब्दहरू निर्लज्ज देखिन सक्छन् । त्यो मानव समाजको यथार्थ ऐना हो, तर पनि पचाउन सहज छैन । कवि राजेश ढुंगानाका कविताहरूले देश दुनिया छोडेर मानवताबाट टाढा भागेका छैनन् । वर्तमान नेपाली राजनीतिमा सत्तामोह र स्वार्थमा लागेका नेताहरू प्रति व्यंग्य र विद्रोहका स्वरहरू उराल्ने प्रयास गरिएको छ । पहिलो कृतिभन्दा कवि ढुंगाना दोस्रो कृतिमा आइपुग्दा बलवान विद्रोहीका रूपमा देखिएका छन् ।

यस कृतिका कविताहरूमा मातृभूमि, राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रताको वकालतलाई बलियो बनाउने प्रयास गरिएको छ । नेपालको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिकजस्ता पक्षलाई राजनीतिक आवरणमा नियन्त्रण गरिएकोमा प्रतिवादको आक्रोस पोखिएको कविता संग्रहले नयाँ युग जन्मिने संकेतसमेत छोडेको छ । विद्रोह एक युगमा एक पटक ज्वालामुखी बनेर आउने विश्वास राजनीतिले राखे पनि नेताका कारण राजनीतिमाथि पटक पटक विद्रोहले धावा बोल्नु परेकोमा कवि आक्रोस पोख्दै लेख्छन् ः

युद्ध
झुप्राहरूले
महलका विरूद्ध लड्दैछन्
बन्दुकका विरूद्ध
केवल
हात र आवाजहरूले
लड्नेछन् ।
(हात र आवजहरू)

म विद्रोह बोल्छु
र बारम्बार
तिम्रा विरूद्ध म विद्रोह गर्छु ।
(ईश्वर नै भए पनि)

माथि उल्लेखित दुई टुक्रा कविताका सारले नै भन्छ कवि राजेश ढुंगाना देश र जनताको भलाइका लागि विद्रोह बोल्ने राष्ट्रवादी कवि हुन् । जसले विचारलाई हतियार बनाएर बिध्वंसका बमहरू सधैंका लागि देशका सिमानाबाट फाल्ने हिम्मत कसेका छन् । चेतन र अवचेन मनभित्र देशको माटो साँच्नेहरू साँच्चै राष्ट्रवादी बन्न सक्छन् भन्ने तथ्य राजेश ढुंगानाले फुटकर कविता मार्फत मैले खोजेको देशको रूपमा प्रस्तुत गरेका छन् । नेपाली फुटकर कविता काव्य जगतमा यस कृतिले एउटा बलियो ईंटा बनेर आएको छ ।

सम्बन्धित खबर