मेचीनगर । मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागू गरेको ‘पटके सवारी कर’ को नामले चिनिने पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बुधबार सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभइञ्जेलका लागि कर असुली कार्य स्थगन गरिएको उल्लेख गरेका छन् ।
‘दिइएको दररेटभन्दा फरक दररेटमा तथा तोकिएको स्थानभन्दा बाहेकका स्थानहरुमा पनि शुल्क असुली भएको भन्ने जनगुनासोलाई मध्यनजर गरी हाललाई शुल्क असुली स्थगन गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ’–सूचनामा भनिएको छ ।
नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी आवश्यक निर्णय लिइने उक्त सूचनामा उल्लेख गरेको छ ।