२०८१ पौष २१, आइतवार , ११:१३:३४ बजे

Sajhamanch
'

बिर्तामोडमा बनाइने सार्वजनिक शौचालयको जग्गा खोज्न बन्यो समिति

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले सो कार्यका लागि एक जना अमिनसहित चार सदस्यीय समिति गठन गरेको हो ।

वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा गठित उक्त समितिको सदस्यहरुमा वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं, वडा नम्बर ४ का अध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल छन् ।

आउँदो भदौ मसान्तभित्रमा जग्गा पहिचान गरी प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको नगरप्रमुख प्रसाईंले जानकारी दिइन् । बिर्तामोडमा अझैसम्म सार्वजनिक शौचालय नहुनु गम्भीर विषय रहेको बताउँदै उनले अब प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

नगरका प्रवक्ता तथा समितिका संयोजक पाण्डेले सरकारी वा कोही दाताको सहयोगमा जग्गा प्राप्तिका लागि काम अघि बढाइने बताए । उनले कार्यपालिकाले दिएको समयसीमाभित्र काम सम्पन्न गर्नेगरी काम थालिएको बताए ।

सार्वजनिक शौचालय निर्माणका लागि उक्त नगरपालिकालाई संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

मङ्गलवार, साउन १५, २०८१ | जिल्ला समाचार, समाज