झापा । झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
आइतबार दिउँसो १२ः४५ बजे झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाँ र मोटरसाइकलमा पछाडि सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइए पनि जाँचका क्रममा डाक्टरले चालक निजामुदिन मियाँलाई मृत घोषणा गरेका थिए ।
बायाँ हातमा चोट लागेका घाइते सालेमान मियाँको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।