२०८१ पौष २२, सोमवार , ११:५२:४६ बजे

Sajhamanch
'

ताप्लेजुङका ३१ जनाले त्यागे नेपाली नागरिकता

आइतवार, साउन १३, २०८१

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका ३१ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका उक्त संख्याका नागरिकले नागरिकता त्याग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार नेपाली नागरिकता लिएकामध्ये हालसम्म ३१ जनाले त्याग गरेका छन् ।

नागरिकता ऐन २०६३ जारी भएपछि नागरिकता प्राप्त गरेका नेपाली नागरिकले नागरिकता त्यागेका उनले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ जनाले नागरिकता त्यागेका छन् ।

गत आवअघि २६ जनाले नेपाली नागरिकता त्यागेका थिए । नेपाली नागरिकता त्याग गर्नेमध्ये अधिकांश बेलायत, हङ्कङ र भारत सहितका देशमा बसोबास गर्दै आएका छन् ।

नेपाल बाहिर बसोबास गर्दै आएकाले नेपाली नागरिकता त्याग्नुपरेको उनीहरुले कारण उल्लेख गरेका छन् । यता, गत आवमा जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७२६ जनालाई नागरिकता वितरण गरिएको छ ।

जसअनुसार ६ जनालाई गैर आवासिय नागरिकता, १३ जनालाई वैवाहिक अङ्गिकृत र बाँकी ३ हजार ७०३ जनालाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गरिएको सहायक प्रजिअ भट्टराईले बताए ।

उनका अनुसार गत आवमा २ हजार ६४६ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

आइतवार, साउन १३, २०८१ | समाज

सम्बन्धित खबर