२०८१ भदौ २३, आइतवार , १०:२०:४९ बजे

Sajhamanch
'

पूर्वी नाकाबाट ३ अर्बको प्लाईउड र भेनियर भारत निर्यात

शनिवार, साउन १२, २०८१

मेचीनगर । पूर्वी नाका काँकरभिट्टा हुँदै रु. २ अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको काठका सामान भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा उक्त नाकाबाट सो मूल्य बराबरका ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको हो ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा रु. २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार ९९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो ।

त्यस्तै, उक्त अवधिमा रु. २ अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार ७१२ मेट्रिक टन प्लाई उड भारततर्फ निर्यात भएको सो कार्यालयले जनाएको छ ।

पूर्वी पहाडको खेतबारीमा उत्तीस लगायतका छिटो हुर्किने बिरुवाको काठ चिरान गरेर प्लाईउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाई उड बनाउने गरिन्छ ।

प्लाई उडको धुलो समेत निर्यात हुने गरेको छ । प्लाई उड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलो समेत बिक्री हुने गरेको छ । उक्त अवधिमा रु. ४ लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन काठको धुलो भारत निर्यात भएको छ ।

त्यसैगरी, यही नाकाबाट एक वर्षमा रु. १८ लाख ८२ हजार मूल्य बराबरको ३ मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात भएको उनले बताए ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाईउड लगायतका काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पुर्याएको बताए ।

केही वर्षयता प्लाईउडको व्यापारमा उतारचढाव आइरहे पनि कच्चा पदार्थको संकलन र निर्यातमा भने अवरोध नभएको उनको भनाई छ ।

गत आव २०८०/०८१ मा भारत सरकारले गुणस्तरको नयाँ मापदण्ड बनाउँदा प्लाईउडको निर्यातमा अवरोध आउनसक्ने भनी नेपाली व्यवसायीमा त्रास व्याप्त थियो ।

आफ्नै खेतमा अन्नबाली रोप्दा बाँदर र वन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका पूर्वी पहाडी जिल्लाका किसानहरुले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिस लगायतका बिरुवा रोप्न थालेका छन् ।

यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईंले बताउँछन् ।

नेपालको पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट संकलित काठबाट बनेका प्लाईउड लगायतका काठजन्य उत्पादन पूर्वी नाका काँकरभिट्टा भन्सारबाट भारत निर्यात हुँदै आएको छ ।

तर, तराईका दर्जनौं नाकाबाट समेत यी सामान भारततर्फ निर्यात भइरहेको उनले जानकारी दिए ।