२०८१ कार्तिक १, बिहिवार , ०४:४७:३१ बजे

Sajhamanch
'

बिर्तामोडमा सुलभ सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको शुक्रबार उद्घाटन गरिएको छ ।

नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको उद्घाटन नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका हुन् ।

कार्यक्रममा नगर उपप्रमुख संग्रौलाले सामुदायिक तरकारी बिक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताए । उनले जिल्लामा कृषि, पशुपक्षी तथा मत्स्य विकासका लागि सबैभन्दा धेरै लगानी गर्ने पालिका बिर्तामोड रहेको बताए ।

उनले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा वडाअध्यक्ष राहुलकुमार शर्मा र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाले विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा जोड दिए ।

सुलभ सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला ल्वागुन, जनप्रतिनिधि, तरकारी कृषक, व्यवसायी लगायत विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यसअघि वडा नम्बर ५ स्थित तमुटोल, पाथिभरा बालाजी र वडा नम्बर २ स्थित चारपानेमा उद्घाटन गरिसकिएको छ । अब वडा नम्बर १ मा अतिथिसदन र वडा नम्बर ३ मा बिर्ताबजार बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ ।

त्यस्तै, बुट्टाबारी, गरामनी र सैनिकबजारमा रहेको तरकारी संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ । बिर्तामोड नगरमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम भइरहेको छ ।

शुक्रवार, साउन ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर