२०८१ कार्तिक १, बिहिवार , ०७:५६:५१ बजे

Sajhamanch
'

कोशी प्रदेशमा एक वर्षमा दर्ता भए अपराधका ९ हजार मुद्दा

बिहिवार, साउन १०, २०८१

बिर्तामोड । कोशी प्रदेशमा एक वर्षे अवधिमा अपराधसम्बन्धी विभिन्न शीर्षकका ९ हजार ३८७ वटा मुद्दा दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ती मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराधका छन् ।

सामाजिक अपराधका मात्र १ हजार ५७४ वटा मुद्दा दर्ता भएका कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले बताए ।

आव २०८०/०८१ मा आत्महत्याका १ हजार ५५४, लागूऔषधका १ हजार २९, बैंकिङ कसुरका १ हजार ४, चोरी तथा डाकासम्बन्धी ७५३, जबरजस्ती करणीका ५१७, ठगीका २८५ र कर्तव्य ज्यानका ११६ वटा मुद्दा दर्ता भएका उनले जानकारी दिए ।

कार्यालयको अभिलेख अनुसार जबरजस्ती करणी उद्योगमा ११३, किर्ते सम्बन्धी ४४, साइबर अपराधका २४, मानव बेचविखनका ११ र अन्य २ हजार ३५३ मुद्दा दर्ता भएका छन् ।

एक वर्षको अवधिमा २ हजार ३८५ जना फरार अपराधी पक्राउ गरी रु. ८६ करोड ४८ लाख २९ हजार ४२९ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त अवधिमा १४ वटै जिल्लाबाट १० हजार ४२० केजी गाजा बरामद गरी ५ हजार २१० रोपनी जग्गामा लगाइएको गाजा खेती नष्ट गरेको छ ।

त्यसैगरी, ३ केजी ८८० ग्राम ब्राउन सुगर, ८६ ग्राम चरेस, विभिन्न मनोद्वीपक चक्की ७८ हजार ३३८ वटा, मनोद्वीपक सुई ७ हजार ३८७ वटा एम्पुल र मनोद्वीपक पदार्थ २२६ बोतल बरामद गरी नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा भन्सार चोरी तस्करीका सामान नियन्त्रण गरी रु. १२ करोड, ३८ लाख ११ हजार २१६, प्राकृतिक सम्पदा नदीजन्य पदार्थ दोहन नियन्त्रणबाट रु. ४४ लाख १९ हजार १३५ र अवैध वन पैदावर नियन्त्रणबाट रु. ८० लाख ९७ हजार १६५ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरीले एक वर्षमा जरिवाना तथा राजस्व बापत संकलित रु. १ अर्ब १८ करोड ५७ लाख २५१ राजस्व राज्यकोषमा जम्मा गरेको बताइएको छ ।

बिहिवार, साउन १०, २०८१ | अपराध, प्रदेश, समाज

सम्बन्धित खबर