२०८१ पौष २५, बिहिवार , ११:३३:४९ बजे

Sajhamanch
'

बिर्तामोडका सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम

मङ्गलवार, साउन ८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उद्देश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम भइरहेको छ ।

नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्रमध्ये सोमबार २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।

‘पारिको होइन, बारीको खाउँ’ भन्ने मूल नारासहित अघि बढाइएको सो कार्यक्रम अन्तर्गत वडा नम्बर ५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन भइसकेको छ ।

तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक नगरप्रमुख सीता ढुंगाना तथा पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईंले रिवन काटेर उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा निवर्तमान नगरप्रमुख शिवाकोटीले खाली जमिनलाई बाँझो नराखी अर्गानिक तरकारी उत्पादन गर्न सबैलाई आग्रह गरे ।

विषादी हालिएका तरकारीबाटै प्राणघातक रोग लाग्ने गरेको भन्दै उनले यसबाट बच्नका लागि विषादीरहित भान्छामा जोड दिए ।

यस्तै, वडा नम्बर ५ का वडाअध्यक्ष प्रसाईंले नगरको उक्त कार्यक्रम सफल बनाउन सहभागी सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका बिक्री केन्द्र सबै टोलमा विस्तार गर्न सकिने बताए ।

अर्गानिक तरकारीको उपभोगमा सबैजना लाग्ने हो भने भारत जाने पैसासमेत रोकिने उनको धारणा थियो ।

बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालु आर्थिक वर्षभित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने जनाइएको छ ।

बिक्री केन्द्रका अध्यक्ष युवराज चिमरियाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगीता शिवा, वडा नम्बर ५ का वडासदस्य ओमभक्त सेडाईं, व्यवसायी नारायण चिमरिया लगायत विभिन्न व्यवसायी, कृषक, उपभोक्ताहरुको सहभागिता थियो ।

नगरपालिकाले अन्य वडामा रहेका संकलन तथा बिक्री केन्द्रहरुको समेत क्रमशः उद्घाटन गर्ने कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

मङ्गलवार, साउन ८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर