भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मनाएको छ ।
भद्रपुर नगर कमिटीले आफ्नो सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सल्लाहकार माधव विद्रोही, एमाले झापा उपसचिव अशारु राजवंशी, जिल्ला सदस्यहरु कालिचरण बस्नेत, ब्रम्हलाल ढुङ्गाना, जगत न्यौपाने लगायतको उपस्थिति थियो ।
नगर कमिटीका अध्यक्ष निर्माण नेपालले नेकपाका संस्थापक नेता पुष्पलालको ४६ औं स्मृति दिवसको अवसरमा नेपालमा साम्यवादी आन्दोलनका सर्जक नेता पुष्पलालको राजनीतिक जीवनका बारेमा प्रकाश पारेका थिए ।
माता तुलसीकुमारी र पिता भक्तलाल श्रेष्ठका माइला छोरा पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते २ नं. रामेछापमा भएको थियो । २००४ सालमा राष्ट्रिय कांग्रेसले सञ्चालन गरेको नागरिक अधिकारको आन्दोलनको क. पुष्पलाल, शम्भूराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, सहाना प्रधानले नेतृत्व गरेका थिए ।
त्यसपछि राष्ट्रिय कांग्रेसको छत्रछाँयामा समाज रुपान्तरणको सम्भावना नदेखेपछि २००६ साल वैशाख १० गते उनीसहित ५ जनाले भारतको कलकत्तामा नेकपाको स्थापना गरेका थिए । उनको विवाह २०१० सालमा महिला नेतृ सहाना प्रधानसँग भएको थियो ।
सन् १८४८ सालमा कार्लमाक्स, फेडेरिक एङ्गेल्सले वैज्ञानिक साम्यवादको आधारभूत सिद्धान्तहरुको प्रतिपादन गर्दै तयार पारेको दस्तावेज कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई उनले नेपाली माटो र परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र भावानुवाद तयार गरे ।
जसलाई नेपालीको पहिलो साम्यवादी साहित्य नै मानिन्छ । सोभियत रुसमा २०१६ सालमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालबाट पुष्पलाल गएका थिए । त्यसपछि उनी चीन लगायतका देशहरुको भ्रमण गरी फर्किएका थिए ।
राजा महेन्द्रले नेपालमा ‘कू’ गरेर पञ्चायती व्यवस्था लागू गरेपछि क. पुष्पलालले छरिएर रहेका कम्युनिष्टहरुलाई गोलबन्द गर्दै नेकपाको तेस्रो राष्ट्रिय सम्मेलनतर्फ डोहोर्याएका थिए ।
क. पुष्पलाल सन् १९४९ देखि १९५४ सम्म नेपालको कम्युनिष्ट आन्दोलनको शीर्ष पुरुष तथा नेकपाको महासचिवको हैसियतमा रहेका थिए । २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित अल ईण्डिया मेडिकल इन्स्टिच्यूटमा घातक रोगको उपचारका क्रममा उनको निधन भएको थियो ।
यसैबीच, नेकपा एमाले झापाले सोमबार पुष्पलाल स्मृति दिवस विशेष कार्यक्रम आयोजना गरेको छ ।
बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी लगायतका नेताहरुले नेता पुष्पलालको तस्वीरमा माल्यार्पण गरेका थिए ।