मेचीनगर । पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८०र०८१ मा कृषिजन्य उपभोग्य एवं औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ ।
यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । आर्थिक वर्ष २०८०र०८१ मा रु.१४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारका विभिन्न कृषिजन्य वस्तु आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए ।
उनका अनुसार उक्त अवधिमा सोही नाका भएर रु.१८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरका वस्तु विदेश निर्यात भएको थियो ।
गत आवको आयातको तुलनामा आव २०८०र०८१ मा रु. ४ अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरका कृषिजन्य वस्तु बढी निर्यात भएको छ ।
निर्यात हुने कृषिजन्य वस्तुहरुमा तरकारी, फलफूल, विरुवा, जडिबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्लिसो, अलैंची, काठका हस्तकला सामग्री, मसला बाली, बिउबिजन लगायत छन् ।
चिराइतो (जडिबुटी) बाहेक अन्य सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो चाहिं भारत र बंगलादेश दुवै मुलुकमा निर्यात हुन्छ ।
यसैगरी, आयात हुने कृषिजन्य वस्तुहरुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटविरुवा, जडिबुटी, दाल, लसुन, आलु, ब्रान लगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिए ।
काँकरभिट्टा नाका भएर आयात हुने खाद्यान्न वस्तुमा मकै, फापर, कोदो र पपकर्न रहेको छ । यस नाकाबाट उक्त अवधिमा जम्मा रु. ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरका खाद्यान्न वस्तु आयात भएको छ ।
आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै रहेको छ । रु. ४ अर्ब, ८७ करोड ६५ लाख १५ हजारका ताजा फलफूल र रु. ४ अर्ब ५६ करोड २३ लाख ८० हजारका ताजा तरकारी एक वर्षमा आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
निर्यातको ठूलो अंश औद्योगिक बाली र मसला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा रहेको चिया, अम्लिसो, अदुवा र प्लाइउड भारत जाने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै रहेको छ ।