२०८१ पौष २६, शुक्रवार , ०६:५१:५९ बजे

Sajhamanch
'

गत आवमा मेचीनगरले संकलन गर्यो आन्तरिक आयतर्फ १३ करोड ५२ लाख ५ हजार ८९७ रुपैयाँ राजस्व

सोमवार, साउन ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक आयतर्फ विभिन्न शीर्षकमा १३ करोड रुपैयाँबढी राजस्व संकलन गरेको छ ।

नगरपालिकाको राजस्व उपशाखा र नगरका १५ वटा वडाबाट करसम्बन्धी कूल ५० वटा शीर्षकमा १३ करोड ५२ लाख ५ हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ६१ लाख २१ हजार ६९७ रुपैयाँ संकलन भएको थियो । जुन रकम आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १ करोड ९० लाख ८४ हजार २०० रुपैयाँले कम हो ।

नगरका १५ वटा वडामध्ये सबैभन्दा बढी वडा नम्बर ६ ले १ करोड ७६ लाख २७ हजार ७०१ रुपैयाँ र सबैभन्दा कम वडा नम्बर ५ ले २२ लाख ४९ हजार ८९१ रुपैयाँ संकलन गरेको नगरको राजस्व उपशाखाले जनाएको छ ।

राजस्व परामर्श समिति संयोजक एवं नगर उपप्रमुख मीना उप्रेतीका अनुसार सबैभन्दा बढी सम्पत्ति करतर्फ ३ करोड ४० लाख १९ हजार ६४५ रुपैयाँ संकलन भएको छ ।

दोस्रोमा अन्य सेवा शुल्क बापत २ करोड ३१ लाख ९७ हजार ३८१ रुपैयाँ संकलन भएको छ । संकलित राजस्व नगरभित्रका १५ वटा वडा र नगरपालिकाको राजस्व उपशाखाबाट भएको हो ।

सम्पत्ति कर नगरपालिकाको राजस्व उपशाखाबाट मात्र ११ लाख ४२ हजार ५८४ रुपैयाँ संकलन भएको छ ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नम्बर १० ले ५९ लाख ७९ हजार ४३ रुपैयाँ र सबैभन्दा कम वडा नम्बर ५ ले ७ लाख १६ हजार ६२ रुपैयाँ संकलन गरेको राजस्व उपशाखाको अभिलेखमा उल्लेख छ ।

व्यवसाय करतर्फ कूल १ करोड ५० लाख ९९ हजार ७८७ रुपैयाँ संकलन भएको छ । त्यसमध्ये १४ लाख ३६ हजार ६७२ रुपैयाँ कार्यालयको राजस्व उपशाखामा जम्मा भएको हो ।

व्यवसाय करमा सबैभन्दा बढी वडा नम्बर ६ ले ३८ लाख ९३ हजार ७८८ र सबैभन्दा कम वडा नम्बर १० ले ३४ लाख ४० हजार ७४२ रुपैयाँ संकलन गरेको समिति संयोजक उप्रेतीले बताइन् ।

नक्शा पास दस्तुर बापत कार्यालयको राजस्व उपशाखाले ९५ लाख ८५ हजार ३३२ रुपैयाँ संकलन गरेको छ । नक्शा पासको काम वडाहरुमा नहुने भएकाले कार्यालयको राजस्व उपशाखामा जम्मा हुने गरेको छ ।

सिफारीश दस्तुरबापत कूल २ करोड ३ लाख ८७ हजार १४३ रुपैयाँ संकलन भएको छ । संकलित उक्त राजस्व रकम नगरको राजस्व उपशाखा र १५ वटा वडाबाट संकलन भएको कार्यालयका राजस्व उपशाखा प्रमुख प्रेमप्रसाद पराजुलीले बताए ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रत्येक वडालाई ६० लाख रुपैयाँ बजेट दिएपनि आन्तरिक आयतर्फ बढी राजस्व संकलन गर्ने वडालाई थप ३० प्रतिशत रकम दिने वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले जानकारी दिए ।

वडाको भूगोल जनसंख्या तथा आन्तरिक आयतर्फ बढी राजस्व संकलन गर्ने वडालाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को कूल बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँमध्ये आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ ।

सम्बन्धित खबर