२०८१ पौष २६, शुक्रवार , १२:५८:५७ बजे

Sajhamanch
'

पतञ्जलि योग समिति झापाले मनायो गुरुपूर्णिमा पर्व

आइतवार, साउन ६, २०८१

कमल । आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ ।

आफ्ना प्रथम गुरु माता र पिता हुन् । त्यसपछि गायत्रीमन्त्र दिने, दीक्षामन्त्र दिने, वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने र विद्यालय र विश्वविद्यालयमा आफूलाई पढाएका सबै गुरुवर्गमा पर्छन् ।

सबै गुरुहरूलाई नमन र पूजन गरी कृतज्ञता ज्ञापनसहित आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्वलाई मनाइन्छ ।

हिन्दू धर्मशास्त्रहरूमा माता, पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैनन् भनेर उल्लेख गरिएको छ । यसैगरी, महिलाहरूका लागि माता, पिता र पति मुख्य गुरु हुन् भनेर समेत बताइएको छ ।

ध्यानको जरा आध्यात्मिक गुरुको मूर्ति हो र पूजाको जरा आध्यात्मिक गुरुको निवास हो । मन्त्रको मूल आध्यात्मिक गुरुको वचन हो र मुक्तिको मूल आध्यात्मिक गुरुको कृपा हो ।

गुरुको अर्थ

गुरु शब्द दुईवटा अक्षर मिलेर बनेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ हो–प्रकाश । त्यसैले, अँध्यारोबाट उज्यालोतर्फ लाने मुख्य व्यक्तिलाई गुरु भनिन्छ । त्यसैले, आज गुरुलाई विशेष सम्झिँदै गुरुपूर्णिमा पर्व मनाउने गरिन्छ ।

आषाढ शुक्लपक्षको पूर्णिमालाई नेपाल–भारत लगायत विश्वभरका हिन्दू धर्म समुदायहरूमा महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिन्छ ।  यसक्रममा आज पतञ्जलि योग समिति झापाले विभिन्न कार्यक्रम गरेर गुरुपूर्णिमा पर्व मनाएको छ ।

समितिले आज बिहान जिल्लाभरिका १०० बढी योग केन्द्रमा नियमित कक्षा सञ्चालन गर्नुका साथै, हवन तथा गुरुलाई सम्मान गरेर गुरु पूर्णिमा पर्व मनाएको पतञ्जलि योग समितिका झापा अध्यक्ष देवीप्रसाद घिमिरेले बताए ।

“गुरु बिनाको जीवन सफल हुँदैन । जीवनको पहिलो गुरु बुवाआमा र त्यसपछि शिक्षादिक्षा दिने गुरु भएकाले उहाँहरुलाई सम्मान गर्ने विशेष दिन भनेकै गुरुपूर्णिमा हो” समितिका कोशी प्रदेश महामन्त्री लक्ष्मिप्रसाद काफ्लेले भने, “हामी गुरुकै आशिर्वादका कारण यो अवस्थामा आइपुगेका छौं । त्यसैले सबैले गरुलाई सम्मान गर्नुपर्छ ।”

पतञ्जलि योग कमल गाउँ समितिले पनि दैनिक योग अभ्यास गर्नुका साथै, गुरुलाई सम्मान, हवन र नृत्य गर्दै गुरु पूर्णिमा मनाएको समितिका अध्यक्ष त्रिलोचन गौतमले बताए ।

सम्बन्धित खबर