२०८१ पौष २६, शुक्रवार , ०१:०५:०२ बजे

Sajhamanch
'

होल्डिङ सेन्टरलाई प्रदेशस्तरीय सुधारगृह बनाउन सकिन्छ : मन्त्री अधिकारी

बुधवार, साउन २, २०८१

मेचीनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले मेचीनगर-१४ स्थित होल्डिङ सेन्टरलाई कोशी प्रदेशस्तरीय सुधारगृह बनाउन सकिने बताएका छन् ।

दुहागढीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा रहँदै आएको होल्डिङ सेन्टरको बुधबार स्थलगत अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।

“ठूलो लगानीको भौतिक संरचना अहिलेसम्म प्रयोगमा आएको रहेनछ” अवलोकनपछि मन्त्री अधिकारीले भने, “यो पूर्वाधारको उपयोग केमा र कसरी गर्ने भन्ने निर्णय लिन चाँडै छलफलको वातावरण बनाउँछौं।”

तत्काल वैकल्पिक प्रयोजनका लागि उक्त संरचनालाई कोशी प्रदेशस्तरीय पुनः स्थापना केन्द्रको रुपमा विकास गर्न सकिने भन्दै उनले त्यसलाई अतिरिक्त सुधार गृह बनाउन सकिने धारणा राखे ।

सुरुमा काँकरभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने विषय उठे पनि उपयुक्त जग्गा नभेटिँदा दुहागढीमा बनाइएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

त्यस्तै, नगर उपप्रमुख मीना उप्रेतीले उक्त संरचनाको अविलम्ब सञ्चालनको प्रक्रिया अघि बढाउन मन्त्री अधिकारीलाई अनुरोध गरिन् ।

त्यसक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रयोगविहीन संरचनालाई तत्काल कुनै न कुनै प्रयोजनका लागि उपयोगमा ल्याउनुपर्ने विषय मन्त्री अधिकारीसमक्ष राखे ।

यसैगरी, नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले होल्डिङ सेन्टरको विगतदेखि वर्तमान अवस्था बारे मन्त्री अधिकारीलाई अवगत गराएका थिए ।

सरकारले कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनुअघि करिब २८ करोड रुपैयाँको लगानीमा हनुमान कन्स्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेर उक्त संरचना निर्माण गरेको थियो ।

४ बिघा क्षेत्रफलमा फैलिएको १ हजार मान्छे अटाउने क्षमताको होल्डिङ सेन्टरमा एउटै आकारका २२ वटा अत्याधुनिक पक्की भवन रहेका छन् ।

होल्डिङ सेन्टरका १ हजार वटा बेडमध्ये १०० वटामा अक्सिजन जडान गरिएको, १५ वटा डाइनिङ हल, २२ वटा शौचालय, २ जना डाक्टर र स्वास्थ्यकर्मी बस्ने एडमिन भवन र २ वटा एडमिन किचन बनाइएको छ ।

सम्बन्धित खबर