२०८१ पौष २६, शुक्रवार , १२:३८:०० बजे

Sajhamanch
'

संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि नयाँ सत्ता समीकरण : सांसद शर्मा

बुधवार, असार २६, २०८१

मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले मुलुक अब राजनीतिक स्थिरतातर्फ अघि बढ्ने बताएका छन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्माण गर्न लागेको खानेपानी ओभरहेड ट्यांकीको बुधवार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

“राजनीतिक अस्थिरता अन्त्य गर्दैछौं” नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, “त्यसैका लागि एमाले र कांग्रेसबीच नयाँ राजनीतिक समीकरण बनेको हो ।”

जनतामा चुलिँदो दलहरुप्रतिको निराशालाई आशामा बदल्न केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार निर्माणको प्रक्रिया शुरु भएको उनले स्पष्ट पारे ।

सो अवसरमा संविधानसभा सदस्य रविन कोइरालाले २०७२ सालमा जारी संविधान कार्यान्वयनका चरणमा उत्पन्न उल्झन सुल्झाउन संविधान संशोधन गर्नै पर्ने भएको बताए ।

“अहिलेको संविधानले जटिलता उत्पन्न गराएका केही विषय र बुँदा फेर्न जरुरी देखियो” मेचीनगर नगरपालिकाका संस्थापक प्रमुख समेत रहेका उनले भने, “संशोधन गर्न संसदमा दुई तिहाई बहुमत चाहिन्छ, त्यसैले राष्ट्रिय सहमतिको सरकार आवश्यक परेको हो ।”

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की लगायतले बोलेका थिए ।

काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शाब्दिक स्वागत उपाध्यक्ष गोविन्द गिरी र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

मेचीनगर–५ स्थित सिर्जना चोकमा निर्माण हुने ४५० घन लिटरको ओभरहेड ट्यांकीका लागि ५ करोड रुपैयाँ बजेट रकमान्तर गरिएको जनाइएको छ ।

काँकरभिट्टा खानेपानी संस्थाका कार्यालय प्रमुख दीपक पोखरेलका अनुसार १० करोड ४८ लाख रुपैयाँ लागतमा ३० महिनामा ट्यांकी निर्माण पूरा गर्ने गरी ग्लोबल वितेश जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

सम्झौता अनुसार २ वटा ओभरहेड ट्यांकी, ४ वटा बोरिङ, २ वटा ट्रिटमेन्ट सिस्टम लगायत निर्माण गरिने बताइएको छ ।

सम्बन्धित खबर