२०८१ पौष २६, शुक्रवार , ०५:१९:०९ बजे

Sajhamanch
'

बाहुनडाँगीमा हात्ती छिरेको संकेत दिने प्रविधिको उद्घाटन

शनिवार, असार २२, २०८१

मेचीनगर । संघीय संसदका सभामुख देवराज घिमिरेले बाहुनडाँगीमा हात्ती आएको सूचना गर्ने ‘जीपीएस एप्स’ को उद्घाटन गरेका छन् ।

उनले मेचीनगर–४ स्थित बाहुनडाँगीमा जडान गरिएको उक्त प्रविधिको शुक्रवार स्वीच अन गरेर उद्घाटन गरेका हुन् ।

नेपालमै पहिलोपटक बाहुनडाँगीमा सञ्चालन गरिएको एप्स उद्घाटन गर्दै सभामुख घिमिरेले हात्ती धपाउन तर्साउने, लखेट्ने जस्ता पुरानो शैली त्याग्नुपर्ने बताए ।

‘अब सहअस्तित्वका आधारमा हात्तीमैत्री वातावरण बनाउनुपर्छ’ त्यसक्रममा उनले भने, ‘मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्दै जानुपर्छ ।’

सो एप्सको नियन्त्रण कक्ष बाहुनडाँगीको छोटी भन्सार कार्यालयमा राखिएको छ । उक्त स्थानलाई भारतबाट ठूलो संख्यामा हात्ती नेपाल छिर्ने गौंडाको रुपमा लिइन्छ ।

मेचीनगर–४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार बर्दियाको उज्यालो नेपाल र समाजका लागि युवा सहकार्य नामक संस्थाको संयुक्त पहलमा उक्त प्रविधि बाहुनडाँगीमा जडान गरिएको हो ।

सो प्रविधि जडान गर्न इसिमोडले आर्थिक सहयोग गरेको र निर्माणका लागि रु. १० लाख खर्च भएको जनाइएको छ । उज्यालो नेपालका विज्ञ रमेश नेपालका अनुसार उक्त प्रविधि जीपीएस प्रणालीमा आधारित छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बाहुनडाँगी बजारमा एप्स उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा संविधानसभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, नेकपा एमालेका सल्लाहकार विष्णु प्रसाईं, भीम खवास लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर