२०८१ माघ १२, शनिवार , ०९:१२:४६ बजे

Sajhamanch
'

अर्जुनधाराका हात्तीपीडितले पाए ११ लाख राहत रकम

शुक्रवार, असार २१, २०८१

अर्जुनधारा । अर्जुनधाराका हात्तीपीडित नागरिकलाई अर्जुनधारा नगरपालिकाले करिब ११ लाख रुपैयाँ राहत वितरण गरेको छ ।

जंगली हात्तीको उपद्रोका कारण आर्थिक तथा भौतिकरूपमा क्षति व्यहोरेका नगरवासीलाई नगरपालिकाले राहत रकम प्रदान गरेको होे । यस आर्थिक वर्षमा नगरको ११ वटा वडामध्ये १० वटामा जंगली हात्तीले क्षति पुर्याएको नगरपालिकाले जनाएको छ ।

नगरका १३४ घरपरिवार जंगली हात्तीबाट पीडित भएका छन् । पीडितलाई १० लाख ८९ हजार ५ सय रुपैयाँ राहत रकम उपलब्ध गराइएको जनाइएको छ । यस अवधिमा जंगली हात्तीले ५८ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति गरेको अनुमान गरिएको छ ।

सबैभन्दा बढी ४ नम्बर वडामा ५४ जना हात्तीबाट पीडित भएका छन् । नगरपालिकाले ४ लाख ३८ हजार रुपैयाँ यस वडाका हात्तीपीडितलाई राहत प्रदान गरेको प्रशासनका नासु सौजन कटुवालले जानकारी दिए ।

उनका अनुसार १ नम्बर वडामा २२ जना, २ नम्बरमा ३ जना, ३ नम्बर वडामा १८ जना, ५ नम्बरमा ७ जना, ६ नम्बरमा १ जना, ८ नम्बरमा १ जना, ९ नम्बरमा ७ जना, १० नम्बरमा १० जना र ११ नम्बर वडामा ११ जना हात्तीबाट पीडित भएका छन् ।

जंगली हात्तीले खाद्यान्न खाएर नष्ट गर्ने, बालीनाली नष्ट गर्ने, घरटहरा भत्काएर क्षति पुर्याएको छ । तर, मानवीय क्षति चाहिँ भएको छैन । नगरपालिकाले विपद् व्यवस्थापन सहायता शीर्षकमा पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएको छ ।

क्षतिको अवस्था हेरेर न्यूनतम १० हजारदेखि २५ हजारसम्म राहत रकम उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले कार्यविधि नै बनाएर राहत रकम उपलब्ध गराउँदै आएको कटुवालले जानकारी दिए ।

उनका अनुसार जंगली जनावरको आक्रमण, आगलागी, चट्याङ, बाढीपहिरोजस्ता प्रकोपबाट ज्यान गुमेको खण्डमा नगद ४० हजार उपलब्ध गराउने व्यवस्था छ ।

शुक्रवार, असार २१, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर