२०८१ पौष २७, शनिवार , १२:३४:११ बजे

Sajhamanch
'

बनियानीमा ७४६ जना सर्पदंशका बिरामीको उपचार

बिहिवार, असार २०, २०८१

भद्रपुर । सर्पदंश उपचार केन्द्र बनियानीमा सर्पको टोकाइबाट बिरामी भएका ७४६ जनाको उपचार गरिएको छ ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइ बढेपछि बनियानीमा उक्त केन्द्र स्थापना गरिएको थियो ।

गाउँ स्वास्थ्य शाखाका अनुसार सर्पले टोकेर बिरामी परेका गाउँपालिका र सीमाना आसपासका बासिन्दाको सो केन्द्रमा उपचार गरिएको हो ।

२०७८ असार ३ गतेबाट सञ्चालनमा आएको उक्त उपचार केन्द्रमा नेपालका ६७३ र भारतका ७३ गरी ७४६ जनाको सफल उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले बताए ।

उनका अनुसार सो अवधिमा विषालु सर्पले टोकेका नेपालका २६ पुरुष र २४ महिलाको उपचार गरियो भने अविषालु सर्पले टोकेर ल्याइएका ३४३ पुरुष र २८० महिलाको समेत सफल उपचार गरिएको छ ।

त्यस्तै, उक्त अवधिमा विषालु सर्पले टोकेपछि उपचारका लागि भारतबाट आएका ६ पुरुष र २ महिला तथा अविषालु सर्पले टोकेका ४० पुरुष र ५ महिलाको समेत निःशुल्करुपमा सफल उपचार गरिएको छ ।

आधारभूत स्वास्थ्य केन्द्र बनियानीमा प्रतिमिनेट १५० लिटर अक्सिजन उत्पादन क्षमताको अक्सिजन प्लान्ट समेत जडान गरिएको प्रमुख यादवले जानकारी दिए ।

सर्पदंश उपचारमा सहयोग पुग्ने हेतुले सेवा क्यानडा इन्टरनेशनल र नेपालमा सेवाका लागि युवा नामक संस्थाले प्रदान गरेको अक्सिजन प्लान्ट यहि असार १६ गतेदेखि सञ्चालनमा आएको हो ।

सम्बन्धित खबर