२०८१ पौष २६, शुक्रवार , ०४:०२:३९ बजे

Sajhamanch
'

तोरी खेती प्रवर्द्धन कार्यक्रम : कृषकलाई २६ लाख ८३ हजार रूपैयाँ अनुदान वितरण

मङ्गलवार, असार १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले शुरु गरेको तोरी खेती प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ ।

सो कार्यक्रम अन्तर्गत नगरले आर्थिक वर्ष २०८०/८१ मा नगरका पन्ध्रवटै वडाका किसानलाई अनुदान दिने निर्णय गरेको थियो ।

सोही अनुसार नगरका सबै वडाबाट सहभागी ८३३ जना कृषकलाई अनुदान बापत २६ लाख ८३ हजार ५० रूपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कृषिप्रधान देश नेपालमा पछिल्लोसमय कृषि पेशाप्रति नागरिकको आकर्षण घट्दो क्रममा छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार खेतीपातीबाट निराश बनिरहेका कृषकहरुलाई हौसला थप्न अनुदानको व्यवस्था गरिएको हो ।

नगरमा उब्जाउ हुने बालीलाई उत्पादनसँग जोडेर कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिलाई व्यवसायीकरण गर्ने लक्ष्य लिइएको उनको भनाई छ ।

नगरले तोरी खेतीको प्रवर्द्धन गर्न र किसानहरूलाई उत्पादनसँग प्रत्यक्ष जोड्न तोरी प्रति एक केजी उत्पादन गर्दा १५ रुपैयाँ अनुदानको प्रबन्ध मिलाएको नगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान बताउँछन् ।

न्यूनतम ५ कठ्ठादेखि अधिकतम एक बिघा खेतमा तोरी खेती गर्ने किसानहरुलाई नगरले अनुदान रकम वितरण गरिरहेको छ ।

सोही अनुसार अहिले ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरी खेती गरेका किसानहरुले आफ्नो बैंक खाता लिएर आउँदै धमाधम अनुदान रकम लिइरहेका छन् ।

सम्बन्धित खबर