२०८१ पौष २६, शुक्रवार , १२:०३:२५ बजे

Sajhamanch
'

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा मुद्दा दर्ता

आइतवार, असार १६, २०८१

काठमाडौं । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन परेको थियो ।सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेको भन्ने नक्कली प्रमाणपत्र पेस गरेको खुलेको थियो ।

जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ।

आइतवार, असार १६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर