दमक । झापाको दमकमा तीनपाङ्ग्रे सवारीसाधन ‘सिटीसफारी’ ले ठक्कर दिँदा एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् ।
शुक्रवार दिउँसो १:४५ बजे सिटीसफारीको ठक्करबाट पैदलयात्री २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनकी २ वर्षीया छोरी आरुसी मगर घाइते भएका थिए ।
घाइते दुवैलाई दमकको लाइफलाइन अस्पताल पुर्याइए पनि उपचारका क्रममा दिउँसो २ बजे आरुसीको मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाको शव सोही अस्पतालमा रहेको छ । हात र खुट्टामा सामान्य चोट लागेकी शर्मिलाको उपचार भइरहेको जनाइएको छ ।
काठमाडौं घर भई हाल दमकमा डेरा गरी बस्ने आमाछोरीलाई दमक–१ बरगाछीस्थित भित्री सडकखण्डमा हिंडिरहेकाबेला मे. १ ह ६४०९ नम्बरको सिटीसफारीले ठक्कर दिएको थियो ।
सिटीसफारी इलाका प्रहरी कार्यालय दमकमा राखिएको र नाम, थर, वतन नखुलेका चालक भागेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।