२०८१ पौष २४, बुधवार , ०३:१७:५१ बजे

Sajhamanch
'

कोशी प्रदेशमा २ रुपैयाँ तिर्दा एक गिलास पिउने पानी पाइने

बिहिवार, असार १३, २०८१

झापा । अब कोशी प्रदेशभर २ रुपैयाँ तिर्दा एक गिलास पिउने पानी पाइने भएको छ ।

उक्त योजना कार्यान्वयन गर्न कोशी प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि प्रदेशको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय ‘वाटर एटीएम’ सञ्चालन गर्ने तयारीमा जुटेको हो ।

परीक्षणका लागि पहिलो चरणमा झापा, मोरङ र सुनसरीमा स्वचालित प्रणालीबाट पिउने पानी पाइने छ । सुरुवातमा बिर्तामोड, इटहरी र विराटनगरमा राखिने ‘वाटर एटीएम’ मा २ रुपैयाँको सिक्का हालेपछि उक्त मेशिनबाट एक गिलास पानी आउँछ ।

केही महिनापछि ‘वाटर एटीएम’ सञ्चालन गर्ने तयारी भइरहेको खानेपानी मन्त्रालय र खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेशमा पिउने पानीका लागि ‘वाटर एटीएम’ राख्न लागिएको बताए ।

“नागरिकलाई सहजरुपमा सेवा दिने प्रणाली विकास भएको छ” उनले भने, “यसबाट आम नागरिकलाई राहत मिल्नेछ ।” मन्त्री कार्कीका अनुसार एटीएमबाट जाडोका बेला तातो र गर्मीका बेला चिसो पानी आउने प्रणालीसमेत जडान गरिने छ ।

बिहिवार, असार १३, २०८१ | प्रदेश, समाज