
बिर्तामोड । लगातारको भारी वर्षाका कारण कटान हुँदा झापाको हुलाकी सडक खण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टिको भाग भत्किएको छ ।
पुलको दुवैपट्टिको ड्याम भत्किएपछि आवतजावत बन्द भएको छ । ड्यामलाई बग्न नदिन स्थायी संरचना निर्माण नहुँदा क्षति भएको हो ।
पुलको पूर्वतर्फको भाग बाह्रदशी गाउँपालिकामा र पश्चिमी भाग झापा गाउँपालिकामा पर्छ । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आज सडक मर्मत गर्ने बताएकी छन् ।
त्यसैगरी, सडकको विषयलाई लिएर हुलाकी सडकको कार्यालय इटहरीमा सम्पर्क गर्दा पुनर्निर्माणका लागि छिटै नै कर्मचारी पठाउने जानकारी दिएको छ ।