२०८१ पौष २७, शनिवार , ०८:३६:५५ बजे

Sajhamanch
'

झापामा अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण

बिहिवार, असार १३, २०८१

बिर्तामोड । झापामा कृषक तथा व्यवसायीहरुलाई अर्गानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

नेपालमा अर्गानिक विधिबाट कृषिवस्तु उत्पादन गर्न र उत्पादीत ती वस्तुलाई प्रक्रियागत ढंगबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याएर उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना र अर्गानिक एशोसिएसन नेपाल, ललितपुरको संयोजनमा झापाका ३० जनाभन्दा बढी उद्यमी तथा कृषकलाई क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको हो ।

तालिममा विज्ञ शंकर गुरुङ र अर्गानिक एशोसिएसन नेपालकी महासचिव शान्ता बाँस्कोटाले प्रशिक्षण दिएका थिए । बाँस्कोटा पाँचथरको अर्गानिक चिया उत्पादक कञ्चनजंघा टी– इण्डष्ट्रिजकी प्रबन्ध निर्देशक पनि हुन् ।

महिला उद्यमी उमा शिवाकोटीले सहजीकरण गरेको तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, आयोजक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, उपनिर्देशक सिद्धिचरण दाहाल, अर्गानिक एशोसिएसन नेपालकी महासचिव शान्ता बाँस्कोटा लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

केन्द्रका कार्यकारी निर्देशक राणाको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नगप्रमुख प्रसाईंले सिकेको सीपलाई व्यवहारमा उतार्दै अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणमा आफ्नो क्षमता उजागर गर्न सहभागीहरुलाई आग्रह गरिन् ।

त्यस्तै, केन्द्रका कार्यकारी निर्देशक राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाली वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक प्रक्रियाहरुका सम्बन्धमा व्यवसायीहरुलाई सहजीकरण गर्दै आएको जानकारी गराउँदै अर्गानिक उत्पादन, यसका मापदण्ड र अन्तर्राष्ट्रिय बजीकरणका लागि सधैं सकारात्मक सहयोग पुर्याइरहने बताए ।

त्यस्तै, सहभागी रिना ओडारी, गंगा प्रसाईं लगायतले अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणका सम्बन्धमा धेरै कुरा सिक्न पाएको बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका नवराज मरहठ्ठाले गरेका थिए ।

बिर्तामोडमा यही ८ गते शुरु भई बुधवार समापन भएको सो प्रशिक्षणमा महिला उद्यमी तथा कृषकहरुको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित खबर