२०८१ माघ १४, सोमवार , १२:१४:०४ बजे

Sajhamanch
'

एमालेले दियो आफ्ना सांसदहरुलाई रुपान्तरित नेतृत्वबारे प्रशिक्षण

बिहिवार, असार १३, २०८१

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदहरुलाई रुपान्तरित नेतृत्वका विषयमा प्रशिक्षण दिएको छ ।

पार्टी संसदीय विभागको आयोजना र स्थानीय विकास विभागको संयोजनमा ‘समृद्धि उन्मुख रुपान्तरित नेतृत्व र कार्यशैली’ विषयबारे प्रशिक्षण दिइएको हो ।

त्यसक्रममा पार्टी संसदीय विभागप्रमुख पृथ्वी सुब्बा गुरुङले सांसदहरुको कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।

कार्यक्रममा उनले संसद र जनताबीच काम गर्दा प्रभावकारी र रुपान्तरित ढंगले आफ्नो उपस्थिति जनाउन आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै, स्थानीय विकास विभागप्रमुख देवेन्द्र दाहालले पार्टी विभागले केही समयअघि सातै प्रदेशका जनप्रतिनिधिहरुलाई स्थानीय तहको काम प्रभावकारी बनाउन सघाउ पुर्याउने उद्देश्यले बन्द प्रशिक्षण शिविर सञ्चालन गरेको जानकारी गराए ।

त्यसपछि संघीय सांसदहरुको पुनर्ताजगी, प्रभावकारी एवं रुपान्तरित नेतृत्वका विषयमा प्रशिक्षण आयोजना गरिएको उल्लेख गरे ।

कार्यक्रममा प्रतिनिधीसभाका प्रमुख सचेतक महेश बर्तौलाले प्रशिक्षणबाट सांसदहरुको नेतृत्व र कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

प्रशिक्षणका क्रममा सहजकर्ता, पार्टी स्कूल विभागका सदस्य तथा नेतृत्व शिल्पका विज्ञ प्रा.डा. तत्व तिम्सिनाले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि सबै तहका नेतृत्वले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न आवश्यक रहेको बताए ।

त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकसित परिस्थिति र अवस्थाको समेत विश्लेषण गर्दै नेतृत्व क्षमताको विकास गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सभा एवं प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसदहरुको सहभागिता थियो । पार्टी संसदीय विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

सम्बन्धित खबर