मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।
बुधवार नगरको दोस्रो सभाको पाँचौं अधिवेशन समापन सत्रमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणि चौधरी (मेचे) सम्मानित भएकी हुन् ।
उनलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले नगदराशी १ लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।
युवावस्थादेखि ६० वर्ष उमेर हुञ्जेल निरन्तररुपमा महिला स्वयंसेविका बनेर समुदायमा स्वास्थ्य सेवा प्रवाह गरी अनिवार्य अवकाश पाएकी मेचीनगर–८ निवासी मेचेलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको थियो ।