२०८१ माघ १४, सोमवार , ०८:०५:५४ बजे

Sajhamanch
'

बर्खायामसँगै झापामा रगतको अभाव

बुधवार, असार १२, २०८१

झापा । बर्खायाम शुरु भएसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालका अनुसार झापामा रगतको अभाव भएको हो । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका बिरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगत आवश्यक पर्ने भएकाले खपत बढेको छ ।

खपत बढेसँगै रगत हाहाकारको स्थिति आएको छ । रेडक्रस झापा शाखामा १०० युनिट रगत मात्र स्टक रहेको इन्चार्ज दाहालले बताए । उनका अनुसार झापामा अहिले दैनिक सरदर ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ ।

रेडक्रससँग रहेको रगतले अधिकतम तीन दिन मात्र थेग्ने उनले बताए । १४ गते हुने मदन भण्डारी फाउण्डेशनको रक्तदान कार्यक्रमबाट संकलित रगतले दुई तीन दिन पुग्ने जानकारी दिँदै दाहालले त्यसपछि रगतको संकट हुन सक्ने बताए ।

उक्त फाउण्डेशनले प्रत्येक वर्ष असार १४ गते गर्दै आएको रक्तदान कार्यक्रमबाट सरदर १०० देखि १५० युनिट रगत संकलन हुने गरेको इन्चार्ज दाहालको भनाई छ । झापामा प्रत्येक वर्ष २० हजार युनिट रगत खपत हुने गरेको छ ।

जसमध्ये १५ हजार युनिट रगत रेडक्रस झापा शाखाले उपलब्ध गराउँदै आएको छ भने ५ हजार युनिट रगत रेडक्रस दमक शाखाले उपलब्ध गराउने गरेको छ । झापामा रक्तदाताको अभाव रहेकाले रगतको अभाव हुने गरेको इन्चार्ज दाहाल बताउँछन् ।

झापामा कम्तीमा ५ हजार जना नियमित डोनरको आवश्यकता रहे पनि अहिले १ हजार जना मात्रै नियमित रक्तदाताहरू छन् । रक्तसञ्चार सेवा बिर्तामोडका संयोजक सजेश शिवाकोटी बर्खायाममा रक्तदानका कार्यक्रम कम हुने भएकाले पनि रगत अभाव भएको बताउँछन् ।