झापा । झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा रु तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।
चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार ९५७ कार जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार ७४१ मोटरसाइकल चालक, ९ हजार ७७४ ट्रक चालक, १ हजार ५३३ टिपर चालक, २ हजार ६२२ बस चालक तथा २ हजार ६१३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए ।
यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा ४९० सवारीसाधन दुर्घटना हुँदा १५३ जना सख्त घाइते तथा ६३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए । सबैभन्दा बढी ४५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप–कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।