भद्रपुर । झापाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न थालिएको छ ।
जिल्लाका स्वास्थ्य केन्द्रहरुमा रहेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम प्रदान गर्न थालिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले जानकारी दिए।
सरकारी स्वास्थ्य संस्थामा बहिरंग सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिम प्रदान गर्न थालिएको उनले बताए।
यसैबीच, सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि सोमबारदेखि पाँच दिने ‘मानसिक उपचार तथा व्यवस्थापन’ तालिम शुरु भएको छ ।
मानसिक रोगको समस्या बढिरहेकाले सोको उपचार एवम् व्यवस्थापनका लागि तालिम दिन थालिएको हो । स्वास्थ्य कार्यालय झापाको आयोजनामा शुरु भएको तालिममा प्राडा नवराज कोइराला नेतृत्वको टोलीले तालिम दिने छन् ।
समुदायस्तरमा काम गर्ने स्वाथ्यकर्मीलाई ‘मोडल बीटू’ तालिम दिन थालिएको हो । तालिममा १५ वटा पालिकाका स्वास्थ्यकर्मी सहभागी छन् ।
“पछिल्लो समय झण्डै २० प्रतिशत मानिसमा मानसिक रोगको शिकार भएको विभिन्न अध्ययनले देखाएको छ”, निमित्त प्रमुख बाराकोटीले भने, “समुदायस्तरमा मानसिक रोगको उपचारको पहुँच पुर्याउने उद्देश्यले तालिम दिन थालिएको हो ।”
इन्टरनेटको बढी प्रयोग, गरिबी, प्रतिस्पर्धा, असफलता लगायतका कारणले मानिसमा मानसिक रोगको समस्या बढ्दै गएको उनले बताए। विशेषगरेर युवा र बृद्धबृद्धामा मानसिक रोग बढी देखिएको उनको भनाइ छ ।