२०८१ पौष २६, शुक्रवार , ०१:४४:३८ बजे

Sajhamanch
'

गैंडा मुद्दामा आठ वर्ष जेल बसेर छुटेका कुमाल ‘खाग’ बेच्दै गर्दा फेरि पक्राउ

सोमवार, असार १०, २०८१

चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई गोली हानी घाइते बनाएको आरोपमा पक्राउ परी आठ वर्ष जेल बसेर छुटेका पंकज कुमाल फेरि पक्राउ परेका छन् ।

खाग जस्तो देखिने वस्तु बिक्री गर्न लागेको आरोपमा भरतपुर महानगरपालिका–२८ मेघौलीका सन्तबहादुर पनि भनिने ४० वर्षीय कुमाल पक्राउ परेका हुन् ।

उनको साथबाट गएको वैशाख २८ गते खागजस्तो देखिने वस्तु बरामद गरिएको चितवन राष्ट्रिय निकुञ्जको टोलीले जनाएको छ ।

पंकजलाई यसअघि गैंडालाई गोली हानी घाइते बनाएको मुद्दामा आठ वर्ष जेल र ५० हजार रुपैयाँ जरिवाना भएको निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

सजाय पूरा गरी उनी २०७५ सालमा छुटेको तिवारीले जानकारी दिए । प्रहरीले पंकजसँगै नौजनालाई समाएर असार नौ गते आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले नक्कली खाग बनाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा पक्राउ परेको खुलेको तिवारीले बताए । त्यसैले, उनीहरूविरुद्ध खाग खरिद बिक्री कसुर अन्तर्गत उद्योगमा मुद्दा दायर गरेको तिवारीको भनाई छ ।

निकुञ्जले पंकजसहित चितवन राप्ती नगरपालिका–३ सुन्दरबस्तीका ३३ वर्षीय बालकुमार राई, नवलपरासी बर्दघाट नपा–८ भानुनगरका ३५ वर्षीय देवबहादुर परियार, रुपन्देही बुटवल उपमहानगरपालिका–७ कालिका टोलका ३८ वर्षका धनबहादुर बानियाँ र बुटबल–११ आनन्दपथका ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री तथा बाग्लुङ जैमनी–१० राङखानीका ३८ वर्षीय नगेन्द्र थापा छन् ।

त्यसैगरी, जैमनी–७ का २८ वर्षीय कमल राना, जैमनी–९ का ३६ वर्षीय खड्कबहादुर थापा र स्याङ्जा निरकोट घर भई हाल बुटबल–४ बस्ने गरेका ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई पनि निकुञ्जको टोलीले पक्राउ गरी मुद्दा दायर गरेको छ ।

सोमवार, असार १०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर